नेपाली कांग्रेसकी सांसद सीता थपलियाले देश शोक र स्तब्धतामा रहेको भन्दै विपतका कारण पीडित नागरिकको उद्धार तथा राहतमा राज्यले आफ्नो पहिलो दायित्व पूरा गर्नुपर्ने बताएकी छिन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद थपलियाले विपतका कारण ठुलो मानवीय क्षति भएको उल्लेख गर्दै भनिन्, ‘देश शोकमा छ, देश स्तब्ध छ, बोल्न शब्द छैन।’
उनले दुःखको यस घडीमा नेपाली कांग्रेस सरकारसँगै रहेको बताउँदै आफूहरूले सक्दो सहयोग गरिरहेको जानकारी दिइन्। बेपत्ता भएका परिवारका नागरिकले सरकारको उद्धार कार्यप्रति प्रश्न उठाइरहेको उल्लेख गर्दै उनले राज्यको पहिलो दायित्व नागरिकको ज्यान जोगाउनु भएको बताइन्।
‘बेपत्ता परिवारका नागरिक सरकारको उद्धार कार्यमा प्रश्न गरिरहेका छन्,’ उनले भनिन्, ‘राज्यको पहिलो दायित्व नागरिकको ज्यान जोगाउनु हो।’ सांसद थपलियाले विपतमा व्यक्तिगत रूपमा समेत ठुलो क्षति व्यहोर्नुपरेको बताइन्। उनले बाल्यकालको साथी गुमाएको र गाउँलेहरूले पनि धेरै आफन्त तथा नागरिक गुमाएको उल्लेख गर्दै आफ्नो गाउँ शोकमा रहेको बताइन्।
उनका अनुसार धादिङका चारवटा गाउँपालिका विपतबाट प्रभावित भएका छन्। तीमध्ये गल्छी र गजुरी गाउँपालिका बढी प्रभावित रहेको उनले बताइन्। स्थानीय तहका जनप्रतिनिधि दिनरात नभनी राहत वितरण तथा उद्धार कार्यमा खटिरहेको उनको भनाइ छ।
थपलियाले वडाध्यक्षलगायत स्थानीय जनप्रतिनिधिमाथि मिथ्या आरोप लगाउने कामप्रति पनि गम्भीर ध्यानाकर्षण भएको बताइन्। विपतका वेला उद्धार र राहतमा खटिरहेका जनप्रतिनिधिमाथि आधारहीन आरोप लगाउँदा पीडित नागरिकमाथि थप पीडा पुग्ने उनको भनाइ थियो।
‘स्थानीय तह दिनरात नभनी राहत वितरण र उद्धार कार्यमा खटिरहेका छन्। वडाध्यक्षलगायत जनप्रतिनिधिमाथि मिथ्या आरोप लगाएर पीडितमाथि थप पीडा थप्ने कामप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनिन्।