बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यास अभाव सहज बनाउन सरकारले वैकल्पिक व्यवस्था लागू गर्ने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपत्यकामा उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगहरूलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छिन् ।
मन्त्री यादवको निर्देशनअनुसार काठमाडौं उपत्यकाभित्र एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा उपभोक्ताले अर्को कम्पनीको सिलिन्डरसँग उही मूल्यमा साटासाट गरी ग्यास लिन सक्ने व्यवस्था गरिनेछ।
यससँगै आफूले नियमित रूपमा प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर तत्काल उपलब्ध नभएमा उपभोक्ताले अन्य कम्पनीको सिलिन्डरमार्फत पनि ग्यास प्राप्त गर्न सक्नेछन्। बाढीका कारण आपूर्ति प्रणालीमा आएको अवरोधबाट उपत्यकामा ग्यासको वितरण केही असहज बनेपछि तत्काल राहत दिने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ।
मन्त्री यादवले उक्त व्यवस्था उपत्यकाभर प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम र ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छिन् । साथै, उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारद्वारा तोकिएको व्यवस्थाविपरीत कार्य गर्ने व्यवसायी तथा सम्बन्धित पक्षमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।