देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ। सुनसरी, रौतहट, सिन्धुली, पाल्पा र बाँकेमा भएका दुर्घटनामा एक–एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुनसरीको धरान उपमहानगरपालिका– ८, गुराँसचोकस्थित कोशी राजमार्गमा मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दिउँसो २:४५ बजे को.८प ३३३३ नम्बरको मोटरसाइकलले आफ्नै साइडमा रोकिराखेको प्रदेश १–०२–००४ ह ३५०४ नम्बरको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलचालक इटहरी– ५ का ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरे घाइते भएका थिए। उपचारका क्रममा विराट नर्सिङ होम विराटनगरमा राति ९:४१ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
त्यस्तै, रौतहटको गुजरा नगरपालिका– ३, सिमरी जंगलमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार १८ वर्षीय सञ्जय घिसिङको मृत्यु भएको छ। धनसर–जंगलसैया भित्री सडकमा दिउँसो १:३० बजे भएको दुर्घटनामा घाइते घिसिङलाई उपचारका लागि एलएस न्युरो हस्पिटल, बारामा लगिएको थियो। उनको साँझ ६:३१ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– ३, घन्टेस्थित मदन भण्डारी राजमार्गमा मिनीट्रकको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। साँझ ७:३० बजे बा.प्र.०३–००१ ख १८१४ नम्बरको मिनीट्रकले स्थानीय करिब ५० वर्षीय माइते राईलाई ठक्कर दिएको थियो।
पाल्पाको तानसेन नगरपालिका– ८, माथिल्लो डुम्रेमा मोटरसाइकल दुर्घटनामा २७ वर्षीय युवराज दर्लामीको मृत्यु भएको छ। सिद्धार्थ राजमार्गमा राति ७:५० बजे बा.४६प ८७०२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार तिनाउ गाउँपालिका– ३, दोभानका दर्लामी गम्भीर घाइते भएका थिए। उनको राति ९:१५ बजे एलएमसी प्रभास, पाल्पामा उपचारका क्रममा मृत्यु भएको हो।
यसैगरी, बाँकेको कोहलपुर नगरपालिका– १२, चप्परगौडीस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। भे.१ प ९४६६ नम्बरको मोटरसाइकलले राप्ती सोनारी गाउँपालिका– ८ ढकेरीका करिब ५२ वर्षीय जंगवीर वलीलाई ठक्कर दिएको थियो। घाइते वलीलाई नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका लागि लगिएकोमा २४ गते बिहान १२:४८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार यी सबै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।