जेन–जी आन्दोलनको एक वर्ष पुगेको अवसरमा राजनीतिक दलका शीर्ष नेताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । यसैगरी एमाले अध्यक्ष केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल, कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्कादेखि शेखर कोइरालासम्मले कुनै प्रतिक्रिया दिएनन् ।
सत्तारूढ रास्वपा सभापति रवि लामिछानेले जेन–जी आन्दोलनले कोरेको मार्गबाट कहिल्यै विचलित नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । जेन–जी सहिद दिवसका अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ भन्ने दृढ संकल्प व्यक्त गर्दछु ।’
सभापति लामिछानेले गत वर्ष २३ र २४ भदौमा भएको जेन–जी आन्दोलन कुनै पनि दलविशेषको आह्वानमा नभएको भन्दै त्यसलाई कसैले पनि राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्न नहुने बताएका छन् । ‘यो कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन थिएन, यो पूर्णतः स्वस्फूर्त जागरण थियो । त्यसैले, कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो संकुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्नुहुँदैन,’ उनले भनेका छन् । लामिछानेले सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताए ।
कांग्रेस सभापति गगन थापाले तत्कालीन प्रधानमन्त्री र सरकारलाई गलत भइरहेको भनेर सचेत गराउने कोसिस गरेको र नमानेपछि २३ र २४ भदौको घटना भएको बताए । २३ भदौमा मारिएका युवाको जिम्मेवारी तत्कालीन सरकारको जिम्मेवारी भएको र गलत गर्नेलाई कारबाही गर्नुपर्ने बताए । ‘भदौ २३ को जिम्मेवारी तत्कालीन सरकारमा बस्नेले लिनुपर्छ । सत्य–तथ्य बाहिर आओस् । दोषीलाई कारबाही हुनुपर्छ,’ उनले भने, ‘भ्रष्टाचारमुक्त, जवाफदेही, सुशासनयुक्त राज्य निर्माणका लागि कांग्रेसले आफ्नो जिम्मेवारी पूरा गर्छ । सहादत खेर जान दिन्नौँ । यो हाम्रो संकल्प हो ।’
एमाले अध्यक्ष केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् । कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्कादेखि शेखर कोइरालासम्मले कुनै प्रतिक्रिया दिएका छैनन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले जेन–जी आन्दोलनपछि पनि अवस्था नबदलिएको टिप्पणी गरेका छन् । ‘जेन–जी आन्दोलन सत्ताको खेल, कुर्सीको खेल मात्रै थियो । अवस्था बदलिएको छैन,’ उनले भनेका छन् । त्यस्तै, राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जेन–जी आन्दोलनपछि पनि ‘नेपोबेबी’हरूले नै आज सत्ता चलाइरहेको टिप्पणी गरेका छन् । ‘प्रिय जेन–जी, तिमीहरूले ‘नेपो बेबी मुर्दावाद’ भन्यौ, तर आज तिनै नेपोबेबीहरूले सत्ता चलाइरहेका छन्,’ शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सामान्य रुघाखोकी लाग्दा पनि उनीहरू हेलिकोप्टर चढेर हिँडिरहेका छन् ।’
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन छैन भने संसद्को दुईतिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन भन्ने स्पष्ट सन्देश जेन–जी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको स्मरण गराएकी छिन् । ‘जेन–जी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ– राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा गर्दछु,’ उनले भनेकी छिन् । आजकै दिन देशको इतिहासमा एउटा पीडादायी घटना भएको र त्यसमा कैयौँ युवाले जीवनभर अपांगताको पीडा व्यहोर्नुपर्ने गरी घाइते हुनुपरेको कार्कीले उल्लेख गरेकी छिन् ।