किम्रोङ खोलाको बहाब रोकिएपछि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपिल
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रोङखोलामा एक्कासि पानीको बहाब रोकिएपछि गाउँपालिकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
स्थानीयबाट आज साँझ करिब ६ः३० बजेदेखि खोलाको बहाब अवरुद्ध भएको सूचना प्राप्त भएपछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी घटनास्थलतर्फ प्रस्थान गरेका छन्। खोला पहिरोका कारण वा अन्य कुनै कारणले कुन स्थानमा थुनिएको हो भन्नेबारे भने हालसम्म यकिन हुन नसकेको अध्यक्ष केसीले बताए।
जेन–जी सहिद दिवसमा प्रधानमन्त्री बालेनले भने– सुशासन कायम हुने नै छ
प्रधानमन्त्री बालेन शाहले मुलुकमा सुशासन कायम भएरै छाड्ने बताएका छन्।
जेन–जी सहिद दिवसको अवसरमा मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सुशासनप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन्।
प्रधानमन्त्री शाहले लेखेका छन्, ‘सुशासन कायम हुने नै छ, सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’ गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए।
‘आर्मी–प्रहरीले राहत लिएको छैन, वितरण नगरेको आरोप तथ्यहीन’
राहत सामग्री पीडितलाई वितरण नगरी आर्मी र प्रहरीले लिएको तथा सडीगली गएको भन्ने आरोपको नेपाल प्रहरी प्रधान कार्यालयले खण्डन गरेको छ। सुरक्षा निकायले राहत सामग्री वितरण नगरी आफैँले लिएको भन्ने आरोप भ्रमपूर्ण र तथ्यहीन रहेको भन्दै प्रहरी प्रधान कार्यालयले आपत्ति जनाएको हो।
आफ्नो ज्यानको पर्वाह नगरी विपतमा परेका नागरिकको खोज, उद्धार, घाइतेको उपचार, शव व्यवस्थापन तथा राहत वितरणलगायतका मानवीय कार्यमा खटिएका सुरक्षा निकायबारेको अफवाहप्रति प्रहरीले दु:ख व्यक्त गरेको छ।
भदौ २३ र २४ लाई एउटै आँखाले हेर्न मिल्दैन : कानुनमन्त्री गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भदौ २३ र २४ गतेलाई एउटै आँखाले हेर्न नमिल्ने भन्दै जेन–जी सहिद दिवसलाई राजनीतिक रंग नदिन आग्रह गरेकी छिन्।
दिवसको अवसरमा मंगलबार नयाँ बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गौतमले भनिन्, ‘२३ गते हाम्रा युवाहरूलाई गोली हानिएको हो। त्यसैले यस दिनलाई राजनीतिक हिसाबले रंग दिएर पक्ष-विपक्षमा नबाँडीकन, एक ठाउँमा आएर एक अर्कालाई ढाडस दिनुपर्छ।’
जेन–जी आन्दोलनमा भागेका तीन हजार ६०५ कैदीबन्दी अझै फरार
गत वर्षको जेन–जी आन्दोलनका वेला देशका विभिन्न कारागारबाट भागेका तीन हजार ६०५ कैदी अझै फरार छन् । कारागार व्यवस्थापन विभागका अनुसार फरार हुनेमा केही गम्भीर तथा जघन्य अपराधमा सजाय भोगिरहेका कैदीसमेत छन् ।
२४ भदौको आन्दोलनका क्रममा सुरक्षाकर्मीले जेलको अवस्था नियन्त्रणमा लिन नसकेपछि एकपछि अर्को गर्दै कैदीबन्दी कारागारबाट भागेका थिए । कुल १३ हजार ५८५ कैदी भागेकामा नौ हजार ९७५ जना कारागार फर्किसकेको विभागका महानिर्देशक माधवप्रसाद पोखरेलले बताए । उनका अनुसार पाँचजनाको भने मृत्यु भएको विवरण विभागसँग छ ।
कोशीमा तीन वर्षमा ७७ प्रतिशतले बढ्यो सडक दुर्घटना, सीमित जनशक्तिले ट्राफिक व्यवस्थापनमा सकस
कोशी प्रदेशमा दर्ता भएका सवारीसाधनको संख्या करिब १० लाख पुगेको छ। अन्य प्रदेशमा दर्ता भएर कोशीमा गुड्ने सवारीसाधनको संख्या पनि कम छैन। तर, ट्राफिक प्रहरीको जनशक्ति बढ्न नसक्दा सडक सुरक्षा झनै चुनौतीपूर्ण बन्दै गएको छ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार कोशीमा एक ट्राफिक प्रहरीको भागमा एक हजार ९४८ वटा सवारीसाधन र ४६ किलोमिटर सडक पर्छ। प्रदेशको करिब ४० लाख जनसंख्यालाई हेर्दा एकजना ट्राफिक प्रहरीले ९ हजार २१ जना सडक प्रयोगकर्ताको व्यवस्थापन गर्नुपर्ने अवस्था छ।
कोशी प्रदेशमा ट्राफिक प्रहरीको दरबन्दी २७० मात्र छ। ट्राफिक प्रहरीका रूपमा काजमा कार्यरत प्रहरी जनशक्ति ५७९ छ। यही जनशक्तिले कोशी प्रदेशका १४ जिल्लाका मुख्य राजमार्ग, सहायक सडक, बजार क्षेत्र, चोक तथा दुर्घटनाग्रस्त स्थानमा खटिएर ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यता छ।
कांग्रेस महाधिवेशन : तल्लो तहको अधिवेशन कार्यतालिका संशोधन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशन कार्यतालिका परिमार्जन भएको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीको क्षतिलाई ध्यानमा राख्दै कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशनको कार्यतालिका परिमार्जन गरेको हो।
वडा अधिवेशन स्थानीय अनुकूलताअनुसार असोज ३ गते शनिबार र ४ गते आइतबार तथा गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते बुधबारलाई तोकिएको छ।
युवाहरूको आँधीले कोरेको मार्गबाट एक इन्च पनि विचलित हुनेछैनौँ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन–जी आन्दोलनका क्रममा घाइते तथा अंगभंग भएकाहरूको उपचार, परिवारको उचित हेरचाह र दीर्घकालीन पुनर्स्थापनाको जिम्मेवारी राज्यले पूरा गर्नुपर्ने बताएका छन्।
जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै लामिछानेले उक्त दिनलाई नेपाली इतिहासमा नयाँ जागरणको विस्फोटका रूपमा व्याख्या गरेका छन्।
वृद्धको सामाजिक सुरक्षाभत्ता चोर्ने बाबुछोरा पक्राउ
साथीसाथी मिलेर समाजमा चोरी गर्ने घटनाहरू त बाक्लै सुनिन्छन् । तर, रामेछापमा भने एकै घरका बाबुछोरा मिलेर एक वृद्धको घर फोडी सामाजिक सुरक्षाभत्ताबापतको रकम चोरी गरेको अभियोगमा प्रहरीले बाबुछोरालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनापती गाउँपालिका– २, नयाँ पानीट्यांकी टोलका ३४ वर्षीय आकाश लामा र उनका १९ वर्षीय छोरा सन्दीप तामाङ रहेका छन् । उनीहरू बाबु र छोरा मिलेर भदौ १८ गते बिहान करिब ६ बजे सुनापती गाउँपालिका– २, दिमीपोखरीका ७५ वर्षीय इमानसिंह तामाङको घर फोडी उनले राखेको सामाजिक सुरक्षाभत्ताबापतको रकम ७८ हजार रुपैयाँ चोरी गरी फरार भएका थिए ।
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब
इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा केयरगिभरको काम गर्नका लागि एक हजार ४६४ नेपालीका लागि रोजगारी खुलेको छ । वैदेशिक रोजगार विभागले मंगलबार एक सूचना प्रकाशित गरी एक हजार १३२ महिला र ३३२ पुरुषका लागि आवेदन खुलाएको हो ।
आगामी २६ भदौसम्ममा आवेदन पेस गरिसक्नुपर्ने छोटो समयावधिसमेत तोकिएको छ । आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने प्रावधान छ। यसरी छनाेटमा परेका नेपाली कामदारको सूचना विभागले प्राप्त गरेपछि इजरायल पठाउने सबै प्रक्रिया विभागबाटै हुने गर्छ ।