सामान्य अवस्थामा ५० हजार ग्यास सिलिन्डरको खपत हुने काठमाडौं उपत्यकामा अहिले दोब्बर अर्थात् दैनिक एक लाख ग्यास सिलिन्डरको माग छ, तर आपूर्ति भने मुस्किलले ३० हजार सिलिन्डरको मात्रै भइरहेको छ । जसकारण उपत्यकमा यतिवेला ग्यासको चरम अभाव छ ।
प्रत्येक डिलर र उद्योगमा उपभोक्ताको लाइन थेगिनसक्नु छ । माग उच्च भए पनि तीन दिनयताको तथ्यांक तुलना गर्दा १८ भदौमा २४ हजार चार सय ९४, १९ भदौमा ३४ हजार एक सय ३४ र २० भदौमा २९ हजार दुई सय ४९ थान ग्यास सिलिन्डर आएको छ । जबकि, तीन दिनको माग भने तीन लाख सिलिन्डर हो । मागको एकतिहाइ मात्रै आपूर्ति भएकाले सर्वसाधारण लामो लाइनमा बस्दासमेत ग्यास पाउन नसकिरहेका हुन् ।
तराईका उद्योगमा भने भारतबाट ग्यास लिएर आएका बुलेटको भिड बढ्न थालेको निगमको एलपिजी विभाग प्रमुखसमेत रहेका निर्देशक विनीतमणि उपाध्यायले जानकारी दिए । खाली सिलिन्डर बोकेको ट्रक कान्ति लोकपथबाट जाने र भरिएको ग्यास सिलिन्डर लिएर त्रिभुवन राजपथबाट आउने गरी रुट व्यवस्थापन गरिएको छ । तर, दुवै बाटोमा चर्को जाम हुने गरेको उपाध्यायले जानकारी दिए ।
ग्यास आपूर्ति सहजीकरणका लागि तराईका उद्योगमा खटिएका निगमका सहायक प्रबन्धक उपेन्द्र सुवेदीले भारतबाट आएको ग्यास समयमै अनलोड गरेर सिलिन्डरमा भर्न सकस भइरहेको बताए । ‘तराईका सीमित उद्योगमा काठमाडौंका दुई दर्जनभन्दा बढी ब्रान्डका सिलिन्डरमा ग्यास भर्नुपर्ने चुनौती छ,’ उनले भने, ‘त्यसैले, सबै उद्योग तीन सिफ्ट गरेर २४सै घण्टा चलाउँदा पनि भारतबाट आएका सबै ग्यास समयमै अनलोड हुन सकेका छैनन् ।’
तराईका उद्योगको बोटलिङ क्षमतामा तुलनात्मक रूपमा कमजोर रहेका कारण तीन सिफ्ट गर्दासमेत बढीमा १० हजार सिलिन्डरमा मात्रै ग्यास भर्न सकेको उनले जानकारी दिए ।
भारतबाट आइरहेको ग्यास काठमाडौंसम्म ल्याउन बाटोको असुविधा भएको छ
विनीतमणि उपाध्याय, निर्देशक, आयल निगम
तराईका उद्योगमा भारतबाट ग्यास लिएर आएका बुलेटको भिड बढ्न थालेको छ । भारतबाट नियमित रूपमा आयात भएको ग्यास तराईका उद्योगमा भरेर काठमाडौं ल्याइरहे पनि बाटोको असुविधाले धेरै ल्याउन सकिएको छैन । काठमाडौंबाट खाली सिलिन्डर लिएर गएको ट्रक तराईमा ग्यास भरेर काठमाडौं आउन तीन दिन लागिरहेको छ । कृष्णभिरमा आएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भई बुलेटमै ग्यास ल्याउन नसक्दा तराईबाट ट्रकमा ओसार्नुको विकल्प छैन । ट्रकमा ओसार्दा तुलनात्मक रूपमा कम परिमाण आइरहेको छ ।
सर्वसाधारणलाई डिलर र व्यवसायीलाई निश्चित ठाउँबाट ग्यास दिन सुझाव
उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले ग्यासको यतिबिघ्न अभाव कहिल्यै नदेखेको बताए । उनले वितरण प्रणालीमा भएको कमजोरीका कारण अभाव चर्केको र चाँडै सहज हुने स्थितिसमेत नदेखिएको बताए । ‘अहिले उपत्यकामा दैनिक माग भनेको एक लाख ग्यास सिलिन्डरको हो । यसको तुलनामा एकतिहाइ पनि ग्यास आपूर्ति हुन सकेको छैन ।
जसकारण उपभोक्ताले चर्को अभावको सामना गर्नुपरेको छ,’ उनले भने, ‘वितरण प्रणाली पनि भद्रगोल भयो ।’ उनले डिलरमार्फत सर्वसाधारण उपभोक्ता र केही निश्चित स्थान तोकेर व्यावसायिक प्रयोजनमा ग्यास वितरण गर्नुपर्ने सुझाव पनि दिए । ‘होटेल, रेस्टुरेन्टलाई ग्यास नदिने भनेर हल्ला हुनासाथ ठुलो मात्रामा काठमाडौं भित्रिएका सिलिन्डर गायब भए । ती सबै बिचबाटोबाटै होटेल, रेस्टुरेन्ट पुगेका हुन्,’ उनले भने ।
विगतमा टेक, तारकेश्वर, चन्द्रागिरि, भक्तपुर, बबरमहललगायतका ठाउँ तोकेर ग्यास उपलब्ध गराएजस्तै अहिले पनि त्यस्ता ठाउँ तोक्ने, तर व्यावसायिक प्रयोगकर्तालाई मात्रै त्यहाँबाट दिने व्यवस्था हुनुपर्ने उनको भनाइ छ । ‘होटेल, रेस्टुरेन्टलाई सरकारले ठाउँ तोकेर ग्यास दिने हो भने लिन जान उनीहरूलाई समस्या हुँदैन,’ उनले भने, ‘डिलरबाट तत्काल होटेल, रेस्टुरेन्टबाट बन्द गर्ने र सर्वसाधारणले मात्र दिने व्यवस्था मिलाउने हो भने आपूर्ति सहज गर्न धेरै सहयोग मिल्छ ।’
२२ दिनमा ४१ हजार टन ग्यास आयात
१–२२ भदौसम्म ४१ हजार तीन सय ४६ टन ग्यास भारतबाट आयात भएको आयल निगमले जनाएको छ । यो अवधिमा २२ सय ९७ बुलेटमा ग्यास ल्याइएको छ । निगमको एलपिजी विभाग प्रमुख विनीतमणि उपाध्यायले दैनिक सय बुलेटभन्दा बढी ग्यास लोड भइरहेको जानकारी दिए । ‘भारतसँग समन्वय गरेर बिदाको दिनमा ग्यास लोड गराइरहेका छौँ,’ उनले भने, ‘हामीले मागेजति ग्यास दिन भारत पनि तयार नै छ ।’ उनले भदौमा ६० हजार टन आयातको लक्ष्य राखिएको जानकारी दिए ।
भारतबाट आइरहेको ग्यास काठमाडौंसम्म ल्याउन बाटोको असुविधा भएको छ
विनीतमणि उपाध्याय, निर्देशक, आयल निगम
तराईका उद्योगमा भारतबाट ग्यास लिएर आएका बुलेटको भिड बढ्न थालेको छ । भारतबाट नियमित रूपमा आयात भएको ग्यास तराईका उद्योगमा भरेर काठमाडौं ल्याइरहे पनि बाटोको असुविधाले धेरै ल्याउन सकिएको छैन । काठमाडौंबाट खाली सिलिन्डर लिएर गएको ट्रक तराईमा ग्यास भरेर काठमाडौं आउन तीन दिन लागिरहेको छ । कृष्णभिरमा आएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भई बुलेटमै ग्यास ल्याउन नसक्दा तराईबाट ट्रकमा ओसार्नुको विकल्प छैन । ट्रकमा ओसार्दा तुलनात्मक रूपमा कम परिमाण आइरहेको छ ।