रसुवाको भोटेकोशी बाढीपहिरोमा परी लुम्बिनी प्रदेशका २४५ जना नागरिक बेपत्ता भएका छन् । जसमध्ये पाँचजनाको मृत्यु भएको विवरण प्रदेश सरकारले सार्वजनिक गरेको छ ।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेका अनुसार बेपत्ता भएकाहरूका परिवारजन अहिले आफन्तको खोजी तथा सुरक्षित फिर्तीको प्रतीक्षामा छन् । विपत्को घडीमा प्रभावित परिवारलाई सहयोग, उद्धार तथा बेपत्ता नागरिकको खोजीका लागि आवश्यक समन्वय गर्दै आएको प्रदेश सरकारले जनाएको छ ।
यसअघि प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा तीन करोड रुपैयाँ सहयोग गर्ने तथा मुख्यमन्त्री र मन्त्रीहरूको आधा महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ । भीषण बाढीमा परी ज्यान गुमाएकाप्रति लुम्बिनी प्रदेशमा दीप प्रज्ज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ ।