प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा र नुवाकोटका बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने बताएका छन्।
प्रधानमन्त्री शाहले बाढीका कारण प्रभावित विभिन्न जलविद्युत् आयोजनामा भइरहेको खोज तथा उद्धारको पछिल्लो अवस्थाबारे जानकारी दिँदै सीमित स्रोतसाधन र समयका बाबजुद अभियानलाई निरन्तरता दिइरहेको बताएका हुन्।
भदौ १० गते बिहान रसुवागढीको करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमालको करिब ५ हजार ६ सय मिटर उचाइबाट हिमपहिरो खसेपछि भोटेकोशी नदीमा लेदोसहित आकस्मिक बाढी आएको थियो। बाढीका कारण रसुवा र नुवाकोटका सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ठुलो क्षति पुगेको थियो।
बाढीपछि आयोजना क्षेत्रबाट केही व्यक्ति सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले निरन्तर खोज तथा उद्धार गरिरहेको शाहले बताएका छन्। खोज कार्यमा भारत, चीन र कोरियाबाट आएका विशेषज्ञ टोलीले समेत सहयोग गरिरहेका छन्।
बाढीका कारण आयोजनाका ६ वटा आवासीय भवन र एउटा कार्यालय भवन पुरिएका छन्। ती संरचना पत्ता लगाउन १५ मिटरसम्म गहिरो उत्खनन भइसकेको शाहले बताएका छन्।
प्रधानमन्त्री शाहले जोखिमपूर्ण अवस्थामा समेत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी खोज तथा उद्धारमा निरन्तर खटिरहेको बताएका छन्। मित्रराष्ट्रबाट आएका विशेषज्ञ टोलीले समेत अभियानमा सहयोग गरिरहेको उनले उल्लेख गरेका छन्।
‘हामीले हाम्रो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौँ,’ शाहले भनेका छन्। उनले नेपालीको मानवीय स्वभावलाई व्यवहारमा उतार्दै सीमित स्रोत–साधनका बाबजुद सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारलाई अन्तिमसम्म जारी राख्ने प्रतिबद्धता जनाएका छन्।