आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस भदौ ३१ गतेदेखि हुने भएको छ। सोमबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) हलमा भएको पत्रकार सम्मेलनमा प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने आरम्भका प्रधानाध्यापक नरेशप्रसाद श्रेष्ठले जानकारी गराए।
ब्वाइज/गर्ल्सतर्फ टिम तथा यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/गर्ल्स सिंगल्समा खेल हुनेछ। हरेक सिंगल्स स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ६ हजार, ३ हजार र १ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा ४ देखि ५ सय खेलाडीको सहभागिता रहने टेबल टेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले जानकारी दिए।
प्रधानाध्यापक श्रेष्ठले प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तर दिने बताउँदै शिक्षासँगै अत्तिरिक्त क्रियाकलापमा पनि विद्यार्थी उत्तिकै अब्बल हुनुपर्छ भन्ने मान्यताका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उनले अन्य खेलका प्रतियोगिता पनि आयोजना गर्ने योजना रहेको बताए।
पत्रकार सम्मेलनमा श्रेष्ठले विभिन्न खेलका १६ खेलाडीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरेको अवगत गराए। टेबल टेनिसमा ५, तेक्वान्दोमा ३, फुटबलमा ३, बास्केटबलमा ३, ब्याडमिन्टनमा १ र क्रिकेटमा १ खेलाडीले आरम्भमा शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गरिरहेका छन्।
प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने बताइएको छ। असोज २ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइनेछ।