कांग्रेसमा संस्थापन लचक, देउवा समूह अडानमै

वडा अधिवेशन सार्ने र पुससम्म सदस्यता नवीकरण गरेकाले महाधिवेशनमा भाग लिन पाउने निर्णय गर्दै संस्थापन, महाधिवेशन रोक्नुपर्ने देउवा समूहको माग

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल कांग्रेसमा विवाद मिलाउन संस्थापन पक्ष लचक  देखिएको छ । पार्टी सभापति गगन थापाले निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग सघन छलफल गरेपछि कांग्रेसमा विवाद साँघुरो बनाउने प्रयास भएको हो । 

तर निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने नयाँ नयाँ सर्त अघि सारेको छ । देउवा समूहले सर्वोच्च अदालतको पुनरवलोकन कुर्ने कि महाधिवेशन रोकेर वार्तामा बस्नुपर्ने माग अघि सारेको छ । देउवा समूहका नेता एनपी साउदले वडा अधिवेशन सारिए पनि आफ्नो माग पूरा नहुने बताए । उनले राजनीतिक र कानुनी विषय नसुल्झेको भन्दै अझै एकता महाधिवेशन हुने सम्भवना नरहेको बताए । एउटा पक्षले महाधिवेशन गरे अर्को पक्षले पनि महाधिवेशन गर्ने अवस्थामा पार्टी विभाजन हुने उनले बताए ।

‘वडा अधिवेशनको मिति सार्नु भनेको प्राविधिक विषय मात्र हो  । त्यसले मूल मुद्दा  सम्बोधन गर्दैन । १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति कि कथित विशेष महाधिवेशनबाट चयन भएको कार्यसमिति आधिकारिक भन्ने विषय अदालतमा विचाराधीन छ ।  यस्तो अवस्थामा अदालतको पुनरावलोकन पर्खने वा महाधिवेशन रोकेर राजनीतिक सहमति खोज्ने भन्ने हो । महाधिवेशन गर्न हामीसँग अझै नौ महिना बाँकी छ । महाधिवेशन गर्ने हो भने दुइटा हुन्छ, त्यसले तलसम्म दुइटा कमिटी बन्छ, त्यस्तो अवस्थामा पार्टी विभाजित हुन्छ,’ उनले भने ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले २४ भदौदेखि सुरु हुने वडा अधिवेशन सार्न निर्वाचन समितिलाई लेखी पठाउने निर्णय भएको बताए । उनका अनुसार आगामी २ वा ३ असोजमा वडा अधिवेशन हुनेछ । यस्तै, सदस्यता अद्यावधिक नगरेका, तर १५औं महाधिवेशनका लागि गत पुससम्म सदस्यता नवीकरण गरेकालाई महाधिवेशनमा भाग लिन दिने निर्णय भएको छ । कानुनले छेकेका र अनुशासनको कारबाहीमा परेकाबाहेकले महाधिवेशनमा भाग लिन पाउने उनको भनाइ छ ।

चालिसेले इतर समूहले राखेको माग कमिटी समायोजन विधानले नदिने भएकाले स्वीकार्न नसकिने बताए । ‘मुख्यतः बाढीका कारण वडा अधिवेशन सरेको हो । वडा अधिवेशनको मिति सार्न निर्वाचन समितिलाई लेखी पठाउँछौं । सायद असोज २ वा ३ गते वडा अधिवेशन हुन्छ होला । सदस्यता अद्यावधिक नगरेका, तर १५औं महाधिवेशनका लागि गत पुससम्म सदस्यता नवीकरण गरेकालाई महाधिवेशनमा भाग लिन दिने निर्णयमा पुगेका छौं,’ उनले भने ।

कांग्रेसमा दुवै पक्षले वैधानिक बाध्यता देखाउँदै अलग–अलग महाधिवेशनको कार्यतालिका ल्याएका छन् । महाधिवेशनको मिति, नेतृत्वको वैधता र संगठनमाथिको नियन्त्रणजस्ता विषयमा दुवै पक्ष रणनीतिक रूपमा अघि बढेका छन् । गगन थापा नेतृत्वको कांग्रेसले आगामी १६–१९ असोजमा १५औँ महाधिवेशनको कार्यतालिका ल्याएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले २१–१३ मंसिरमा समानान्तर महाधिवेशनको कार्यतालिका ल्याएको छ । कांग्रेसको निर्धारित चारवर्षे र थपिएको एकवर्षे कार्यकाल आगामी मंसिरमा सकिँदै छ । 

कांग्रेसमा अहिले देखिएको विवाद विचार, नीति र कार्यक्रमको भन्दा शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति आधिकारिक कि गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट चयन भएको कार्यसमिति भन्ने हो । निर्वाचन आयोग र सर्वोच्च अदालतले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिए पनि निवर्तमान सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको पुनरवलोकन निवेदनमा निस्सा दिएपछि आधिकारिकता विवाद कायमै छ । दुवै पक्षले आफूहरू नै आधिकारिक भएको दाबी गर्दै आएका छन् ।

सभापति थापा वडा अधिवेशनअघि नै विवाद मिलाउने अन्तिम प्रयासमा छन् । थापाले समानान्तर महाधिवेशनको कार्यतालिका ल्याउने इतर पक्षको बैठकमा सहभागी नभएका निवर्तमान कार्यवाहक सभापति खड्का र नेता शेखर कोइरालासँग भेटवार्ता गरेका छन् । ‘हामी कांग्रेस एकताबद्ध होस् भन्नेमा छौँ । आन्तरिक एकताका लागि सबै प्रयास गर्छौँ । सभापतिले नेताहरूसँग छलफल पनि गरिरहनुभएको छ । कांग्रेसको वैधानिकतामा प्रश्न नउठ्ने गरी महाधिवेशन कार्यतालिका संशोधन गर्न पनि तयार छौँ,’ सहमहामन्त्री योगेन्द्र चौधरीले भने । उनका अनुसार खड्का र कोइरालासँगको छलफल सकारात्मक छ । उनले निवर्तमान सभापति देउवासँग पनि छलफल हुने बताए ।

थापाले आइतबार सुरु भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा खड्का र कोइरालासँगको भेटबारे सामान्य जानकारी मात्रै दिए । उनले नेताहरूसँगको संवाद र भेटभन्दा बाढीपीडितका समस्या समाधान र संवाद बढी महŒवपूर्ण रहेको बताए । ‘शेरबहादुर देउवा, डा. शेखर कोइराला र पूर्णबहादुर खड्कालगायत नेताहरूसँगको संवाद र भेटघाटलाई सञ्चारमाध्यमले चासोका साथ हेर्नु स्वाभाविक हो । मेरा लागि भने अहिले धादिङ, रसुवा र नुवाकोटका बाढीपीडित समस्या समाधान र संवाद बढी महत्वपूर्ण छ । सर्वस्व गुमाएका पीडितहरूको साथमा रहेर हामी निरन्तर काम गर्नेछौँ,’ थापाको भनाइ थियो ।

निवर्तमान कार्यवाहक सभापति खड्काले विगतमा उठाएको विषय नै राखेको उनीनिकट नेता रामहरि खतिवडाले बताए । क्रियाशील सदस्यता अद्यावधिक नगर्ने, गत १० पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेकालाई १५औँ महाधिवेशनमा भाग लिन दिने, वडा अधिवेशन सार्ने र विशेष महाधिवेशनमा छुटेका १४औँ महाधिवेशनको कार्यसमितिका सबैलाई विशेष महाधिवेशनको कार्यतालिमामा समायोजन गर्ने विषय खड्काले शनिबारको भेटमा थापासँग राखेका छन् ।

गगन र शेखरबिच भेटवार्ता
सभापति थापाले आइतबार नेता कोइरालासँग पनि छलफल गरेका छन् । कोइरालाले थापासँग एकताको विशेष पहल गर्न आग्रह गरेका छन् । कोइरालाले एकताका लागि आफू त्याग गर्न तयार रहेको पनि बताउँदै अहिले देश, लोकतन्त्र र राष्ट्रियता संकटमा रहेकाले एकताबद्ध कांग्रेसको आवश्यकता औँल्याएका थिए । ‘अहिले देश, लोकतन्त्र र राष्ट्रियता संकटमा छ । कांग्रेस कमजोर भएका वेला लोकतन्त्र खतरामा पर्दै आएको छ । यस्तो वेला कांग्रेसको एकता अहिलेको आवश्यकता हो । पार्टी एकताबद्ध बनोस्, मैले के त्याग गर्नुपर्छ, त्यसका लागि तयार छु,’ थापासँग कोइरालाले भनेका थिए । कोइरालालाई राजनीतिक संयन्त्रको नेतृत्व दिन थापा तयार छन् ।

कोइरालानिकट नेता बद्री पाण्डेले छलफल सकारात्मक भएको बताए । ‘शेखर दाइले छलफल सकारात्मक भएको बताउनुभएको छ । सबैजना सँगै बस्ने वातावरण बनाउनुपर्छ भन्नेमा उहाँको जोड छ । उहाँले देउवासँग पनि भेट्नुहुन्छ,’ उनले भने, ‘त्रिपक्षीय संवादको स्थिति बन्न सक्छ ।’ थापाले आफू पार्टीलाई मिलाएर लैजाने विषयमा संवेदनशील रहेको र हदैसम्मको लचिलो बन्ने बताएका छन् । थापाले कोइरालासँग सहमतिको वातावरण बनाउन वडा अधिवेशनको मिति पछि सारेर सहमतिको प्रयास गर्नेसमेत बताएका थिए । तल्ला तहका अधिवेशन केही दिन सारे पनि १५औँ महाधिवेशन भने आगामी १६ असोजमै सुरु गर्ने कांग्रेसको तयारी छ । भोटेकोशी बाढी र असन्तुष्ट पक्षसँग सहमतिको प्रयास भन्दै कांग्रेसले पुनः महाधिवेशन कार्यतालिका संशोधन गर्न लागेको हो । 

‘हामीलाई वैधानिक बाध्यता छ, १६ असोजमा कांग्रेसको केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु हुन्छ, यो तिथिमिति तलमाथि गर्न सक्ने सुविधा छैन । तर, विपत्को यो अवस्थामा रसुवा, नुवाकोट र धादिङमा केही असजिला छन् । तीन जिल्लामा नियमित वडा अधिवेशन गर्ने अवस्था मैले देखिनँ । तल जाँदै गर्दा पनि त्यो सम्भावना देखिनँ,’ थापाले भने, ‘रामेछाप, दोलखा, पर्साजस्ता जिल्लाका मानिसहरू पनि परिवारका सदस्य खोज्न बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । यस्तो मानवीय संकटको घडीमा अधिवेशनमा जुट्न सम्भव छैन ।’ 

एकताका लागि केसीको पाँचबुँदे प्रस्ताव
कांग्रेस नेता अर्जुननरसिंह केसीले एकताको पाँचबुँदे प्रस्ताव राख्दै गम्भीर विचार–विमर्श गर्न आग्रह गरेका छन् । विशेष महाधिवेशनको परिधिभित्र रहेर पुरानो कार्यसम्पादन समितिलाई र हालको कार्यसम्पादन समिति सभापतिको नेतृत्वमा एकीकृत गर्ने प्रस्ताव केसीको छ ।

विधानको सम्बन्धित धारा निलम्बित गरी केन्द्रीय कार्यसमितिको संख्या परामर्शमा आवश्यकताअनुसार बढाउने, केन्द्रीय कार्यसमितिको प्रथम बैठकले निष्पक्ष महाधिवेशन गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिने, कार्यसम्पादन समितिले नै महाधिवेशन तयारीका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन र अनुशासन समिति थपघट गर्ने र महाधिवेशन निष्पक्ष हुने प्रत्याभूति दिने र १५औँ महाधिवेशन अन्तिम मिति सर्वसम्मत रूपमा एक महिनापछि कात्तिक १७–१९ तोक्न, उक्त कार्यतालिका कुनै पनि बहानामा नसार्ने गरी समितिले पूर्णप्रतिबद्धता जनाउने प्रस्ताव केसीले आइतबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राखेका छन् ।

 महाधिवेशन प्रक्रिया नरोके पार्टी विभाजन हुने लेखकको चेतावनी
कांग्रेस नेता रमेश लेखकले १५औँ महाधिवेशन प्रक्रिया तत्काल नरोके पार्टी विभाजन हुने चेतावनी दिएका छन् । उनले विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने बताए । ‘आ–आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ । यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ,’ आइतबार कञ्चनपुरमा कार्यकर्तासँगको भेटघाटका क्रममा लेखकले भने ।

उनले पार्टी एकता जोगाउन अधिकतम लचकताका साथ अघि बढिरहेको दाबी गरे । ‘१४औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्छ,’ उनले भने, ‘हामीले गगनजीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन ।’ निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न र अन्य समूहबाट प्रतिनिधि राख्नुपर्ने उनले बताए ।

देउवापक्षीय नेता एनपी साउद भन्छन्– वडा अधिवेशनको मिति सार्नु भनेको प्राविधिक विषय मात्र हो  । त्यसले मूल मुद्दा  सम्बोधन गर्दैन । १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति कि कथित विशेष महाधिवेशनबाट चयन भएको कार्यसमिति आधिकारिक भन्ने विषय अदालतमा विचाराधीन छ ।  यस्तो अवस्थामा अदालतको पुनरवलोकन पर्खने वा महाधिवेशन रोकेर राजनीतिक सहमति खोज्ने भन्ने हो । महाधिवेशन गर्न हामीसँग अझै नौ महिना बाँकी छ । महाधिवेशन गर्ने हो भने दुइटा हुन्छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसे भन्छन्– मुख्यतः बाढीका कारण वडा अधिवेशन सरेको हो । वडा अधिवेशनको मिति सार्न निर्वाचन समितिलाई लेखी पठाउँछौँ । सायद असोज २ वा ३ गते वडा अधिवेशन हुन्छ होला । सदस्यता अद्यावधिक नगरेका, तर १५औँ महाधिवेशनका लागि गत पुससम्म सदस्यता नवीकरण गरेकालाई महाधिवेशनमा भाग लिन दिने निर्णयमा पुगेका छौँ ।

 संस्थापन पक्षको महाधिवेशन कार्यतालिका 
वडा अधिवेशन : २४ भदौ
पालिका अधिवेशन : २७ भदौ
क्षेत्रीय अधिवेशन : ३१ भदौ र ३ असोज
जिल्ला अधिवेशन : ७ असोज
प्रदेश अधिवेशन : १० मंसिर
१५औँ महाधिवेशन :१६, १७, १८ र १९ मंसिर

 देउवा पक्षको महाधिवेशन कार्यतालिका
वडा अधिवेशन  : १५ असोज
पालिका अधिवेशन :  २० असोज
क्षेत्रीय अधिवेशन :  २३ असोज
जिल्ला अधिवेशन :  १५ कात्तिक
प्रदेश अधिवेशन :  ४ मंसिर
१५औँ महाधिवेशन :  २१, २२ र २३ मंसिर 

सुझावित समाचार