सुरक्षित पुनर्स्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति । समितिलाई बाढीका कारण घरजग्गामा क्षति भई विस्थापित भएका, सोही स्थानमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बस्न बाध्य परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी ।
भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित परिवारको उद्धारसँगै सरकारले पुनस्र्थापनाको काम अघि बढाएको छ । बाढीका कारण घरजग्गा गुमाएका तथा जोखिमयुक्त स्थानमा बसिरहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी पुनस्र्थापना गर्ने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समिति गठन गरेको छ ।
गत शुक्रबार मन्त्रालयले भोटेकोशी बाढीपीडितको पुनस्र्थापना यथाशीघ्र अघि बढाउने सरकारको लक्ष्यअनुसार सुरक्षित जग्गा पहिचान गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको हो । बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनस्र्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
समितिमा मन्त्रालयको संघीय मामिला महाशाखा, पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय र नापी कार्यालयका प्रमुख सदस्य छन् । उपसचिव दामोदर वाग्लेलाई सदस्यसचिव तोकिएको छ ।
बाढीका कारण घरजग्गामा क्षति भई विस्थापित भएका, सोही स्थानमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बस्न बाध्य परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । मन्त्रालयका अनुसार समितिले बाढीपीडित परिवारको पहिचानदेखि पुनर्स्थापनाका लागि आवश्यक जग्गाको छनोट, स्थलगत अध्ययन, प्रारम्भिक विपत् जोखिम मूल्यांकन तथा अस्थायी बसोबासका लागि आवश्यक कानुनी प्रक्रियासम्मका विषय समेटेर स्पष्ट सुझाव र सिफारिससहितको प्रतिवेदन पेस गर्नेछ ।
समितिको मुख्य उद्देश्य बाढीबाट प्रभावित तथा विस्थापित परिवारको यथार्थ विवरण संकलन तथा पहिचान गर्नु, पुनर्स्थापना र अस्थायी बसोबासका लागि उपयुक्त सुरक्षित जग्गा पहिचान गर्नु, स्थलगत अध्ययन र प्रारम्भिक विपत् जोखिम मूल्यांकन गर्नु तथा आवश्यक पूर्वाधारको अवस्थाबारे अध्ययन गर्नु रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले तोकिएको कार्यादेशअनुसार समितिले काम अघि बढाएको बताए । उनका अनुसार बाढीले बगाएको, कटान गरेको तथा क्षति पुर्याएको सार्वजनिक, निजी जग्गा तथा प्लटको विवरण यकिन गर्ने काम भइरहेको छ । यसका लागि नापी विभागको अभिलेख, भूमि प्रशासन कार्यालयमा रहेका जग्गाको स्वामित्वसम्बन्धी कागजात तथा स्याटेलाइट इमेजसमेत अध्ययन गरिनेछ ।
बाढीबाट विस्थापित तथा प्रभावित परिवारलाई पुनस्र्थापनाका लागि आवश्यक जग्गा पहिचान गर्न समितिले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समेत समन्वय गरिरहेको छ । समितिले बाढीपीडित परिवारको वास्तविक विवरण संकलन तथा पहिचान, स्थानीय तह, भूमि प्रशासन कार्यालय र नापी कार्यालयको सहयोगमा पुनस्र्थापनाका लागि जग्गा पहिचान, स्थलगत अध्ययन गरी प्रारम्भिक विपत् जोखिम मूल्यांकन, जग्गाको भौगोलिक अवस्था, बाढी–पहिरोको जोखिम तथा बसोबासका लागि उपयुक्तता अध्ययन गर्नेछ । साथै आवश्यक पूर्वाधारको अवस्थाबारे अध्ययन गरी कानुनी प्रक्रिया र अस्थायी बसोबासका लागि आवश्यक व्यवस्थासहितको सिफारिस गर्नेछ ।
गत बिहीबार मन्त्री प्रतिभा रावलसहित मन्त्रालयको टोली नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुगेको थियो । मन्त्री रावलले बाढी प्रभावित विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका प्रभावितको अवस्था बुझ्नुका साथै अस्थायी तथा स्थायी पुनस्र्थापनाका विषयमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँग प्रत्यक्ष छलफल गरेकी थिइन् ।
बाढीबाट प्रभावित नागरिकको अवस्था, होल्डिङ सेन्टरमा रहेका नागरिकको व्यवस्थापन, अस्थायी तथा स्थायी पुनर्स्थापना र भूमिहीनको दीर्घकालीन व्यवस्थापनलगायत विषयमा समेत उनले जिल्लाका सरोकारवालासँग छलफल गरेकी थिइन् । यसैबीच, नुवाकोटको विदुर नगरपालिकाले बाढीबाट विस्थापित नगरक्षेत्रका प्रत्येक परिवारलाई अर्को व्यवस्था नभएसम्म १० हजार घरभाडा उपलब्ध गराउने निर्णय गरेको छ ।