वीरगन्जस्थित एक क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित आठजना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, पर्साले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार भदौ १२ गते राति करिब १०ः३० बजे वीरगन्ज महानगरपालिका– १४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो)मा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनापछि प्रहरीले टोली परिचालन गरेको थियो।
प्रहरीले क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चारजना र नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप चारजनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार जुवा खेलिरहेको आरोपमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव, वीरगन्ज महानगरपालिका– ११ का ३० वर्षीय चन्दन सहनी, सोही वडाका ३९ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जाको हरिनास गाउँपालिका– ९ का ३६ वर्षीय प्रदीप पौडेल पक्राउ परेका हुन्।
यादव सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष हुन्। उनी नेकपा (एमाले)बाट निर्वाचित अध्यक्ष रहेको जनाइएको छ। पौडेल भने इलाका प्रहरी कार्यालय पोखरियामा प्रहरी निरीक्षकका रूपमा कार्यरत रहेको पर्सा प्रहरीले जनाएको छ।
त्यसैगरी नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा वीरगन्ज महानगरपालिका– १४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगन्ज– २५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका– ५ का ४९ वर्षीय जयदेव साह र वीरगन्ज– १२ का ५० वर्षीय प्रदेशी साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले सखुवाप्रसौनी गाउँपालिकाको सरकारी सवारीसाधनसमेत क्यासिनोपरिसरबाट नियन्त्रणमा लिएको छ। गाउँपालिकाको ना.१झ १६८७ नम्बरको स्कार्पियो क्यासिनोपरिसरमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।