नेपाललाई एसिसी प्रिमियर कप २०२६ को आफ्नो तेस्रो खेलमा साउदी अरेबियाले १९१ रनको लक्ष्य दिएको छ । आइतबार मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अलआउट हुँदा १९० रनको सम्मानजनक स्कोर बनाएको हो । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले प्रतियोगिता पहिलोपटक ठुलो लक्ष्य पाएको छ ।
साउदीका लागि ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए । उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरेका हुन् । तेस्रो क्रममा आएका मुहम्मद अतिफले ३० तथा मोहम्मद हिशाम शेखले २८ रनको योगदान गरे । अन्य खेलाडीले ठुलो स्कोर बनाउन सकेनन् । दोस्रो विकेटका लागि साउदीका अतिफ र वाहिदले सर्वाधिक ९४ रनको साझेदारी गर्दै ठुलो स्कोर बनाएका हुन् ।
ललित राजवंशीले १.२ ओभरमा वाजी उल हसनलाई डकआउट गरेका थिए । त्यसपछि दुई खेलाडी २२.६ ओभरसम्म क्रिजमा रहँदै ९४ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन विकेट लिए । ललित राजवंशीले दुई तथा शेर मल्ल र गुल्सन झाले समान एक विकेट लिएका थिए ।
नेपाल प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । यसअघि नेपाल समूहमा बहराइन र मलेसियालाई पराजित गर्दै समूह ‘ए’को शीर्ष स्थानमा छ ।