दर्शकका कारण ला लिगाको खेल रद्द

सोमबार, २६ असोज, २०८३
प्रिन्ट संस्करण

स्पेनिस क्लब रायो भाल्कानोका समर्थकका अभद्र व्यवहारका कारण शनिबार राति एथलेटिको क्लबविरुद्धको खेल रद्द भएको छ । घरेलु समर्थकले मैदानमा कागजका जहाज र रबरका बल फ्याँकेका थिए । क्लबका मालिक तथा अध्यक्ष राउल मार्टिन प्रेसाको विरोधमा उनीहरूले यस किसिमको प्रदर्शन गरेका हुन् । भाल्कानोको घरेलु मैदान एस्टाडियो डी भालेकासमा यस सिजनको पहिलो खेल थियो । यसअघि स्वास्थ्य र सुरक्षासम्बन्धी गम्भीर समस्या देखिएपछि यो मैदान बन्द गरिएको थियो । 

रंगशालाको व्यवस्थापन पक्षले सबै किसिमको ‘प्रोटोकल’ पार गरेपछि रंगशालामा खेल सञ्चालन गर्न अनुमति दिइएको थियो । तर, पहिलो खेल नै दर्शकको अभद्र व्यवहारका कारण खेल रद्द भएको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

क्लबका समर्थकले लामो समयदेखि अध्यक्ष प्रेसाको आलोचना गर्दै आइरहेका छन् । समर्थकले क्लबको भौतिक संरचनाको उचित मर्मतसम्भार नगरेको गुनासो गरिरहेका छन् । उनीहरूले घरेलु मैदान अन्य क्लबका जस्तै आधुनिक हुनुपर्ने दबाब दिँदै आइरहेका छन् । तर, क्लबका अध्यक्ष प्रेसाले भने यस पक्षमा केही चासो नदिएको आरोप समर्थकको छ । 

खेलको १३औँ मिनेटमा समर्थकले ‘प्रेसा, अब क्लब छाड’ भन्ने नारासहित मैदानमा कागजका जहाज र रबरका बल फ्याँके । त्यसपछि रेफ्रीले खेलाडीको सुरक्षाको दृष्टिकोण देखाउँदै खेल रोके । मैदानमा फ्याँकिएका वस्तु हटाउन सुरक्षाकर्मीलाई समय लाग्यो । रंगशालाका उद्घोषकले समर्थकलाई मैदानमा वस्तु नफ्याँक्न आग्रह गरेका थिए । करिब १५ मिनेटपछि खेल पुनः सुरु भयो । तर, दक्षिणतर्फको प्यारापिटमा रहेका समर्थकले 
फेरि मैदानमा वस्तु फ्याँक्न थाले । त्यसपछि रेफ्रीले खेल  रद्द गर्ने निर्णय लिए । खेल रद्द हुँदा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । 

आधुनिक रंगशाला बनाइनुपर्ने माग
रायो भाल्कानोका दर्शकले यसअघि पनि यस्तै किसिमको व्यवहार गर्दै आइरहेका थिए । स्पेनिस ला लिगा व्यवस्थापन पक्षले रायो भाल्कानोलाई रंगशालामा आगामी दिनमा दर्शकबाट खराब व्यवहार नगर्न चेतावनी दिएको छ ।

क्लबले मैदानमा खेलाडीहरू सुरक्षित बनाउन उद्देश्यका साथ रंगशालामा केही परिवर्तन नगरेको होइन । तर, शनिबार राति दक्षिण प्यारापिटमा बसेका दर्शकले कागजका जहाज र रबरका बल मैदानमा फ्याँके । कागजका जहाजमा नयाँ रंगशाला चाहियो लेखिएको थियो ।

अर्कोतिर खेल रद्द भएपछि एथलेटिक क्लबले म्याड्रिड पुगेर खेल हेर्न आएका आफ्ना समर्थकलाई टिकटको पैसा फिर्ता गर्ने व्यवस्था मिलाउने जनाएको छ । गत सिजन स्पेनिस फुटबल संघले सार्वजनिक गरेको रायो भाल्कोनोका खेलाडीले लेखेको पत्रमा घरेलु मैदानको पिचलाई ‘खेल्नै नसकिने अवस्था’मा रहेको उल्लेख गरेका थिए । उनीहरूले ड्रेसिङ रुममा नुहाउन तातो पानीको व्यवस्था नभएको र सरसफाइ पनि कमजोर रहेको गुनासो गरेका थिए । 

मैदानमा ढुसीका कारण गत सिजन खेलाडीले आफ्नै प्रशिक्षण मैदानसमेत प्रयोग गर्न पाएनन् । ला लिगामा रायो भाल्कानोले दुई जित निकालेको छ । यो क्लब अहिले अंकतालिकाको १३औँ स्थानमा छ ।

बार्सिलोना ५ अंकले अगाडि 
साबिक विजेता बार्सिलोनाले शीर्ष स्थानमा ५ अंकको अग्रता लिएको छ । शनिबार राति गेटाफेविरुद्ध ३–० को सहज जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानमा आफूलाई थप बलियो बनाएको हो । लगातार आठौँ जितसँगै बार्सिलोनाले २४ अंक बनाएको छ ।

क्याम्प नोउमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन एन्थोनी गोर्डन, गाब्रियल जिसस र जुल्स कुन्डेले एक–एक गोल गरे । गेटाफे आठ  खेलबाट ८  अंकका साथ १३औँ स्थानमा छ । अर्को खेलमा एट्लेटिको म्याड्रिडले एलाभेसलाई २–१ ले हरायो । रियल म्याड्रिडले भियारियललाई १–० ले पराजित हरायो । 

सुझावित समाचार