- सन् २०२७ को एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको ओमानविरुद्ध नेपाल भिड्दै, एकदिवसीय क्रिकेटको हेड टु हेडमा अहिलेसम्म भएका ११ मध्ये ६ खेलमा नेपाल ओमानसँग पराजित
आइसिसी विश्वकप लिग २ अन्तर्गत मंगलबार नेपालले बलियो प्रतिद्वन्द्वी ओमानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । ओमानले सन् २०२७ को एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ । ओमानले २९ खेलमा १४ जित र ११ हार सामना गरी ३३ अंक जोडेको छ । ओमान अहिले चौथो स्थानमा छ । यसविपरीत नेपालको प्रदर्शन मिश्रित छ । एकदिवसीय मान्यता रक्षा गर्ने अभियानमा रहेको नेपाल तालिकाको छैटौँ स्थानमा छ । आइतबार क्यानडामाथिको जितले नेपाल एक स्थानमाथि उक्लिएको हो । नेपालले ३३ खेलमा १२ जित र १९ हार सामना गरी २६ अंक जोडेको छ ।
विश्वकप लिग २ को महŒवपूर्ण खेलमा नेपालले ओमानको घरेलु मैदानमा कडा चुनौती दिने अपेक्षा छ । यी दुईबिच अहिलेसम्म ११ पटक एकदिवसीय खेलमा प्रतिस्पर्धा भएका छन् । हेड टु हेडमा ओमानले नेपाललाई ६ खेलमा हराएको छ । नेपालले पाँच खेलमा जित निकालेको छ । पछिल्लोपटक एसिसी प्रिमियर कपमा नेपालले ओमानलाई ८७ रनले हराएको थियो । तथ्यांकमा यी दुई खेलबिचको नतिजा यस्तो छ ।
५ फेब्रुअरी, २०२० : ओमान १९७/९, नेपाल १७९ (ओमान १८ रनले विजयी)
नेपालले एकदिवसीय मान्यता पाएपछि ओमानसँग सन् २०२० को ५ फेब्रुअरीमा विश्वकप लिग २ सिरिजमा प्रतिस्पर्धा गरेको थियो । त्रिवि क्रिकेट मैदानमा ओमानले ५० ओभरमा नौ विकेट गुमाएर १९७ रन बनायो । सहज लक्ष्य पछ्याएको नेपालले कमजोर ब्याटिङ गर्यो । नेपाल ओमानसँग झिनो १८ रनले पराजित भयो । नेपाली टोली ४६.५ ओभरमा अलआउट भयो । यस खेलमा ओमानका मोहमद नदिमले ६९ रन र एक विकेट लिएका थिए । नेपालको ब्याटिङमा शरद भेषवाकरले सर्वाधिक ५५ रन बनाउन १०८ बलको सामना गरेका थिए ।
९ फेब्रुअरी २०२० : नेपाल २४९/८, ओमान २५०/२ (ओमान आठ विकेटले विजयी)
विश्वकप लिग २ अन्तर्गत ओमानले आफ्नो दोस्रो भेटमा नेपालमाथि आठ विकेटको सानदार जित निकाल्यो । त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा २४८ रन बनायो । प्रत्युत्तरमा ओमानले सानदार ब्याटिङ गर्दै ४७.२ ओभरमा दुई विकेटको नोक्सानीमा २५० रन बनायो । यस खेलमा ओमानका म्यान अफ दी म्याच अकिब इलासले १०८ बलमा १०९ रन बनाए । उनले बलिङमा ३६ रन खर्चेर चार विकेट लिए । नेपालको ब्याटिङमा कप्तान ज्ञानेन्द्र मल्लले ७६ बलमा ५६ रन र पारस खड्काले ३८ रन जोडेका थिए ।
१४ सेप्टेम्बर, २०२१ : नेपाल १९६/१०, ओमान २००/५ (ओमान पाँच विकेटले विजयी)
ओमानले विश्वकप लिग २ मा नेपालमाथि लगातार तेस्रो खेलमा जित निकाल्यो । ओमानको घरेलु मैदानमा भएको सिरिजमा नेपालले पहिलो ब्याटिङ गरी ४७.४ ओभरमा सबै विकेट गुमाएर १९६ रनको झिनो योगफल खडा गर्यो । प्रत्युत्तरमा ओमानले ३१.१ ओभरमा पाँच विकेट गुमाएर दुई सय रन बनायो । ओमानको जितमा जतिन्दर सिंहले ६२ बलमा १०७ रन बनाएका थिए । ओमानले खेल सकिनुअघि ११३ बलमा जित निकालेको हो । नेपालको ब्याटिङमा आसिफ सेखले ११२ बलमा ९० रन बनाएका थिए । पुछारमा करण केसीले ४८ बलमा २१ रन जोडे ।
१९ सेप्टेम्बर, २०२१ : ओमान १२१/१०, नेपाल १२२/३ (नेपाल सात विकेटले विजयी)
नेपालले पहिलोपटक ओमानलाई एकदिवसीय खेलमा हराउन सफल भयो । सन् २०२१ को विश्वकप लिग २ को सिरिजमा नेपालले ओमानको घरेलु मैदानमा सानदार सात विकेटको जित निकालेको हो । पहिलो ब्याटिङ गरेको ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनायो । सहज लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा तीन विकेट गुमाएर १२२ रन बनाउँदै सानदार जित हात पार्यो । करण केसीको उत्कृष्ट बलिङ स्पेल २५/४ को सहयोगमा नेपालले खेल सकिनु १९० बलअघि सफलता चुमेको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५२ रन तथा आसिफ सेखले ४० रन बनाए ।
९ जुन, २०२२ : ओमान २११/८, नेपाल १९८/१० (ओमान १३ रनले विजयी)
विश्वकप लिग २ को ८६औँ खेलमा ओमान पुनः एकपटक नेपालमाथि हाबी भयो । पियरल्यान्डमा भएको खेलमा ओमानले नेपालविरुद्ध १३ रनको झिनो जित निकाल्यो । पहिलो ब्याटिङ गरेको ओमानले ५० ओभरमा आठ विकेट गुमाएर २११ रन बनायो । प्रत्युत्तरमा नेपाल ४९.४ ओभरमा १९८ रनमा समेटियो । यस खेलमा ओमानका जिसन मक्सुदले १२६ बलमा १०४ रन बनाए । उनले बलिङमा नेपालविरुद्ध ३७/३ को प्रदर्शन गरे । नेपालको ब्याटिङमा मध्यक्रमका आरिफ सेखले ७९ बलमा ६६ रनको योगदान दिए ।
१४ जुन, २०२२ : ओमान १६३/१०, नेपाल १६७/३ (नेपाल सात विकेटले विजयी)
सन् २०२२ को विश्वकप लिग २ को सिरिजअन्तर्गत ८९औँ खेलमा नेपालले ओमानमाथि सात विकेटको जित निकाल्यो । पिरल्यान्ड मैदानमा पहिलो ब्याटिङ गरेको ओमान ४६.५ ओभरमा १६३ रनमा समेटियो । नेपालले ३३.१ ओभरमा तीन विकेट गुमाएर १६७ रन बनायो । नेपालले ओमानमाथि १०१ बलअगाडि नै जित हात पारेको थियो । नेपालको जितमा करण केसीले ३३ रन खर्चेर पाँच विकेट लिएका थिए । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५६ रन तथा आसिफ सेखले ६२ रन बनाएका थिए ।
२१ अप्रिल, २०२३ : नेपाल ३१०/८, ओमान २२६/१० (नेपाल ८४ रनले विजयी)
सन् २०२३ को अप्रिल २१ मा नेपालले त्रिवि क्रिकेट मैदानमा एसिसी प्रिमियर कपमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्यो । कीर्तिमानले भरिएको प्रतिस्पर्धामा नेपालले ओमानलाई ८४ रनले निराश बनायो । पहिलो ब्याटिङ गरेको नेपालले कुशल मल्लको १०८ रनको शतकीय इनिङ्सको सहयोगमा ३१०/८ को प्रदर्शन गर्यो । प्रत्युत्तरमा ओमान ४६.३ ओभरमा २२६ रनमै समेटियो । समूह ‘ए’को प्रतिस्पर्धामा नेपालका लागि कुशलले ६४ बलमा १० छक्का र नौ चौका प्रहार गरेका थिए । यसैगरी, सोमपाल कामीले ४८ बलमा नौ चौकाको सहयोगमा ६३ रन जोडे । ओमानविरुद्ध करण केसी र सन्दीप लामिछानेले समान तीन विकेट लिए ।
१८ सेप्टेम्बर, २०२४ : नेपाल २२०/९, ओमान २२३/९ (ओमान एक विकेटले विजयी)
सन् २०२४ को विश्वकप लिग २ को २८औँ खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गरेको थियो । रोमाञ्चकपूर्ण खेलमा ओमान एक विकेटले विजयी भयो । किंग सिटीमा भएको खेलमा नेपालले पहिलो ब्याटिङ गरी ५० ओभरमा नौ विकेट गुमाएर २२० रन बनायो । प्रत्युत्तरमा ओमानले ४९.५ ओभरमा नौ विकेटको नोक्सानीमा २२३ रन बनायो । यस खेलमा नेपाल पराजित भए पनि गुल्सन झा म्यान अफ दी म्याच भए । उनले ब्याटिङमा ३५ बल ५३ रन बनाएका थिए । बलिङमा उनले ४७ रन खर्चेर पाँच विकेट हात पारेका थिए । नेपालको ब्याटिङमा कप्तान रोहित पौडेलले ६० रन बनाएका थिए ।
२९ अप्रिल, २०२६ : ओमान ३०५/८, नेपाल १५५/७ (ओमान डिएलएसमा १०२ रनको जित)
सन् २०२६ को विश्वकप लिग २ अन्तर्गत ९९औँ खेलमा ओमानले त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरी आठ विकेट गुमाएर ३०५ रन बनायो । प्रत्युत्तरमा वर्षाले प्रभावित बनाएको खेलमा नेपालले ३६.५ ओभरमा सात विकेट गुमाएर १५५ रन बनायो । ओमान डिएलएस नियमअनुसार १०२ रनले विजयी भयो । ओमानको जितमा जतिन्दर सिंहले ९६ बलमा १३० रन बनाएका थिए । नेपालको ब्याटिङमा दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए ।
५ मे, २०२६ : नेपाल २५६/१०, ओमान १७५/१० (नेपाल ८१ रनले विजयी)
विश्वकप लिग २ को १०२औँ खेलमा नेपालले पहिलो ब्याटिङ गर्दै ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो । प्रत्युत्तरमा ओमानले ३९.५ ओभरमा सबै विकेटको क्षतिमा १७५ रन बनायो । नेपालको जितमा आसिफ सेखले ९७ बलमा ९४ रन बनाएको थियो । बलिङमा नेपालका सन्दीप लामिछानेले ३८ रन खर्चेर पाँच विकेट लिएका थिए ।
१० सेप्टेम्बर, २०२६ : नेपाल १४७/१०, ओमान ६०/१० (नेपाल ८७ रनले विजयी)
एसिसी प्रिमियर लिगको पहिलो सेमिफाइनलमा नेपालले ओमानविरुद्ध कमजोर ब्याटिङ गर्यो । नेपालले सुरुवाती ब्याटिङ गर्दै सबै विकेटको क्षतिमा १४७ रन मात्र बनायो । प्रत्युत्तरमा ओमानले सहज लक्ष्य पछ्याउन सकेन । ओमान २८.१ ओभरमा ६० रनमै समेटियो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ७६ बलमा ५१ रन, बलिङम ११ रन खर्चेर तीन विकेट र दुई क्याच लिएका थिए । उनी खेलकै म्यान अफ दी म्याच भए ।