- शीर्ष चारमा स्थान बनाउन नसकेपछि नेपालले एकदिवसीय मान्यता जोगाउने एउटा अवसर गुमाइसकेको छ, आगामी चार खेल जित्दै प्ले अफ खेलेर पुनरागमन गर्ने अर्को अवसर भने बाँकी
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजबाट ओमानमा आइसिसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो अन्तिम शृंखला खेल्दै छ । नेपालले यो शृंखलामा घरेलु टोली ओमानसँगै क्यानडासँग खेल्ने तालिका छ । नेपालले पहिलो खेलमै आइतबार क्यानडासँग अल अमेरात क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
सन्दीप लामिछाने कप्तानीमा रहेको नेपाललाई यो त्रिकोणात्मक शृंखला निकै महत्वपूर्ण छ । नेपालले शीर्ष चारमा रहँदै सिधै एकदिवसीय विश्वकप छनोट खेल्ने अवसर गुमाइसकेको छ । लगातार घरेलु मैदानमा कमजोर प्रदर्शनपछि नेपालले गतचक्रको जस्तो एकदिवसीय मान्यता जोगाउन सकेन । गतचक्रमा पनि नेपालले अन्तिमका १२ मध्ये ११ खेल जित्दै एकदिवसीय मान्यता जोगाएका थियो ।
अब, नेपाललाई यो शृंखलाका सबै खेलमा जित निकाल्न निकै दबाब छ । यो चुनौतीलाई नेपाली टिमले अवसरको रूपमा लिनुपर्छ र सफल हुने प्रशिक्षक स्टुआर्ट लले बताएका छन् ।
नेपाली टिमका कप्तान सन्दीप लामिछाने सबै खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउनमै बढी केन्द्रित हुने बताउँछन् । ‘हामीलाई एकदिवसीय मान्यता जोगाउन यो शृंखला निकै महत्वपूर्ण छ,’ ओमान जानुअघि उनले भनेका छन्, ‘त्यसका लागि हामी प्रयास गर्नेछौँ ।’ नेपालले अबका सबै खेल जिते पनि शीर्ष चारमा रहेका च्याम्पियन अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानलाई भेट्नेछैन । यी तीन टिमले एकदिवसीय मान्यता जोगाइसकेका छन् ।
अमेरिकाले ३४ खेलमा ४७ अंक बटुल्यो । गतचक्रको विजेता स्कटल्यान्ड ४५ अंकसहित दोस्रो स्थानमा रह्यो । नेदरल्यान्ड्स ३८ अंकसहित तेस्रो र ओमान ३३ अंकसहित चौथो स्थानमा छन् । यी चार टिमले सिधै एकदिवसीय विश्वकप छनोट खेल्नेछन् । नेपाल ३२ खेलमा २४ अंक जोडेर सातौँ स्थानमा छ । अब, नेपालले ओमानमा सबै खेल जितेको अवस्थामा पाँचौँ स्थानको नामिबिया र छैटौँ स्थानको क्यानडालाई भने उछिन्न सक्ने सम्भावना छ ।
हाल नेपालभन्दा तल संयुक्त अरब इमिरेट्स (युएई) मात्र छ । नेपालभन्दा माथि यही शृंखला खेल्दै गरेको क्यानडा छ । नेपालले आगामी खेलमा क्यानडासँग अंक खोस्न सक्नुपर्छ । लिग–२ मा पाँचौँ र छैटौँ स्थानमा रहने टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता स्वतः जोगिनेछ । यता, सातौँ र आठौँ स्थानमा रहने टोलीको मान्यता जोखिममा पर्नेछ ।
लिग–२ का शीर्ष चार टोलीले सिधै एकदिवसीय विश्वकप छनोट खेल्दा बाँकी चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नुपर्नेछ । प्लेअफमा लिग–२ का पुछारमा चारसहित च्यालेन्ज लिगबाट आएका चार टोली प्रतिस्पर्धा गर्नेछन् । प्लेअफमा शीर्ष चारमा पर्ने टोली एकदिवसीय विश्वकप छनोटमा प्रवेश गर्नेछन् । यस्तो अवस्था आए मात्रै नेपालको एकदिवसीय मान्यता जोगिनेछ ।
सन्दीपलाई अर्को अवसर
घरेलु मैदान कीर्तिपुरमा आठमध्ये ६ खेल जितेर नेपालले एकपटक पुनः एकदिवसीय मान्यता जोगाइसकेको थियो । कप्तान थिए, रोहितकुमार पौडेल । उनकै कप्तानीमा नेपालले नेदरल्यान्ड्समा घरेलु टोली र नामिबियाविरुद्ध चार खेलको शृंखला खेल्यो । यो शृंखलामा भने नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । चार खेलमा चारै खेलमा पराजित भयो ।
यसपछि प्रशिक्षक स्टुआर्ट लले टिममा ठुलै परिवर्तन गरेका छन् । उनले रोहितको कप्तानी जिम्मेवारी नै खोसेका छन् । सन्दीपलाई नयाँ कप्तान बनाइएको छ । त्यसैले पनि लेगस्पिनर सन्दीपका लागि यो शृंखला असली परीक्षा हुनेछ । रोहितलाई हटाएपछि सन्दीपको कप्तानीमा नेपालले एसिसी प्रिमियर कपको उपाधि उचालेको थियो । त्यसपछि नेपाल दोस्रोपटक एसिया कप खेल्न छनोट भएको हो । सन्दीपको कप्तानीपछि भने पहिलोपटक नेपालले लिग–२ को खेल खेल्दै छ ।
नेदरल्यान्ड्स भ्रमणपछि नै रोहितको कप्तानी खोसिँदा अनुभवी तीव्रगतिका बलर सोमपाल कामीसँगै अलराउन्डर कुशल भुर्तेल र ब्याटर आरिफ सेख टिमबाट बाहिर भएका छन् । यस्तै, युवा विकेटकिपर तथा ब्याटर अर्जुन कुमाल, ब्याटर ईशान पाण्डे, बलर शेर मल्ल तथा ब्याटर देव खनालले अवसर पाएका हुन् । प्रिमियर लिगमा टिमबाट बाहिर भएका तीव्रगतिका बलर नन्दन यादव भने यो शृंखलामा जोडिए । नेपाली टिममा तीव्रगतिका बलरमा करण केसी र नन्दन रहँदा स्पिनर हाबी देखिन्छन् । 