विराटनगरको प्रशिक्षकमा धम्मिका यथावत्

शुक्रबार, २३ असोज, २०८३
प्रिन्ट संस्करण

तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि विराटनगर किंग्सले धम्मिका प्रसादलाई पुनः प्रशिक्षकमा निरन्तरता दिएको छ । सम्झौतासँगै प्रसादले आगामी सिजनमा पनि विराटनगरका मुख्य प्रशिक्षक, प्रशिक्षण तथा रणनीतिक नेतृत्व सम्हाल्नेछन् । श्रीलंकाका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर धम्मिकाले आफ्नो खेलाडी करिअरमा श्रीलंकाको राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । दायाँहाते फास्ट बलर प्रसादले श्रीलंकाका लागि २५ टेस्ट, २४ एकदिवसीय र १४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

प्रशिक्षकका रूपमा धम्मिकाले विभिन्न अन्तर्राष्ट्रिय टोलीसँग काम गरेको अनुभव छ । उनले अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीमा सहायक तथा बलिङ प्रशिक्षकका रूपमा काम गरेका थिए । यसैगरी, नेपाल र ओमान राष्ट्रिय क्रिकेट टोलीको पूर्वबलिङ प्रशिक्षकका रूपमा उनले जिम्मेवारी सम्हालिसकेका थिए । फ्रेन्चाइज क्रिकेट करिअरमा प्रसादले लंका प्रिमियर लिगमा कोलम्बो किंग्सका बलिङ प्रशिक्षक, क्यान्डी बोल्ट्सका प्रशिक्षण निर्देशक तथा क्यान्डी रोयल्सका सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका थिए ।

उनले केम्यान आइल्यान्ड म्याच ६० मा फ्लोरिडा लायन्स तथा बिग क्रिकेट लिगमा गुजरात डायमन्ड्सको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालिसकेका छन् । विराटनगरले प्रसादको अन्तर्राष्ट्रिय अनुभव, विशेष गरी बलिङ प्रशिक्षण, खेलाडी विकास र टोली व्यवस्थापनमा रहेको विशेषज्ञतालाई एनपिएलको तेस्रो संस्करणमा महŒवपूर्ण मान्दै निरन्तरता दिएको जनाएको छ । ‘हामीले अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटमा अनुभवी खेलाडी र प्रशिक्षक सम्हालिसकेका प्रसादलाई निरन्तरता दिएका छौँ,’ विराटनगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सिजनमा उनको प्रशिक्षणमा विराटनगरले थप उत्कृष्ट नतिजा निकाल्ने विश्वास गरेका हामीले गरेका छौँ ।’ 

प्ले–अफबाट बाहिरिने पीडा
दोस्रो सिजनमा विराटनगरलाई उपाधि दाबेदारका रूपमा हेरिएको थियो । तर, विराटनगर प्ले–अफबाट बाहिरियो । यससँगै विराटनगरको उपाधि जित्ने सपना अधुरो भयो । प्रशिक्षक धम्मिकाले दोस्रो सिजनको प्ले–अफबाट बाहिरिने क्षणलाई पीडादायी रूपमा लिएको बताए । दोस्रो सिजनको प्ले–अफबाट बाहिरिने क्षणलाई पीडादायी रूपमा लिएको बताए । ‘गत सिजनमा हामी प्ले–अफबाट बाहिरियौँ । त्यसवेला खेलाडीसँगै मैले नमिठो क्षण अनुभव गरेको थिएँ,’ उनले भनेका छन् । यद्यपि, विराटनगरमा पुनः जिम्मेवारी पाउँदा उनले खुसी व्यक्त गरेका छन् । 

भारतमा विराटनगरको प्रशिक्षण
प्रशिक्षक धम्मिकाले यसपटक शतप्रतिशत नतिजा दिने वाचा गरेका छन् । ‘खेलाडीदेखि सबै स्टाफले उपाधि जित्न शतप्रतिशत दिनेछन् । अझ ट्रफीका लागि अन्तिम बलसम्म लड्नेछौँ,’ उनले भने । तेस्रो सिजनका लागि विराटनगरका खेलाडी भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमीमा प्रशिक्षणमा गरिरहेका छन् । टोलीले त्यहाँ रणजी ट्रफीमा खेलिसकेका भारतीय खेलाडीहरूसँग फ्लडलाइटमा अभ्यास खेल खेलिरहेको विराटनगरले जनाएको छ । 

पोखराको स्पोर्टस् एम्बास्डरमा मगर
पोखरा एभेन्जर्सले तेस्रो संस्करणका लागि स्पोर्टस् एम्बास्डरमा भलिबलका चर्चित खेलाडी हिमाल सुनारी मगरलाई नियुक्त गरेको छ । एनपिएलको फ्रेन्चाइज टोली पोखराले नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य, नेपाल भलिबल लिग (एनभिएल)को पहिलो संस्करणको च्याम्पियन अन्नपूर्ण स्पाइकर्स किङ्सका मार्की खेलाडी एवं कप्तान रहेका मगरलाई आफ्नो स्पोर्टस् एम्बास्डर नियुक्त गरेको हो । पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनी र मगरले स्पोर्टस् एम्बास्डर नियुक्तिसम्बन्धी बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । महाप्रबन्धक लोहनीले पोखरा एभेन्जर्स र भलिबलको अन्नपूर्ण स्पाइकर्स किङ्स फरक खेलका टोली भए पनि आधार र भावना एउटै रहेको बताए । ‘गण्डकी प्रदेश र पोखराको खेलकुदलाई अझ बलियो बनाउने उद्देश्यले मगरसँग सहकार्य गरेका हौँ,’ लोहनीले भने । 
टोलीको मुख्य प्रशिक्षकमा श्रीलंकाका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर अजन्ता विन्स्लो मेन्डिस बलापुवाडुगेलाई नियुक्त गरिसकेको छ । बंगलादेशका विश्वप्रसिद्ध क्रिकेटर सकिब अल हसन र श्रीलंकाका अनुभवी अलराउन्डर धनञ्जय लक्षणलाई टोलीमा अनुबन्ध गरिसकेको छ । लिगका लागि पोखराले यसअघि गत जेठमा टोलीका मार्की खेलाडी कुशल भुर्तेलसहित सातजनालाई रिटेन गर्दा पाँचजनालाई रिलिज गरेको थियो । 

सुझावित समाचार