- शनिबार विभिन्न प्रभावित क्षेत्रबाट दुई विदेशी नागरिकसहित ३९ जनाको हवाई उद्धार
बाढीपहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ । नेपाली सेनाका अनुसार शनिबार साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट दुई विदेशी नागरिकसहित ३९ जनाको हवाई उद्धार गरिएको छ । यससँगै नेपाली सेनाले हवाई साधनमार्फत हालसम्म २७५ जना विदेशी नागरिकसहित कुल तीन हजार ९९७ जनाको उद्धार गरेको जनाएको छ । नुवाकोटको विदुर नगरपालिका– ५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले एक्रो ब्रिज जडानको काम गरिरहेको सेनाले जनाएको छ ।
यसैबिच, विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धार कार्य पनि जारी छ । रसुवागढी जलविद्युत् आयोजनामा संयुक्त उद्धार टोलीले पावर हाउसको छैटौँ तलासम्म पुगेर खोजी गर्दा कोही फेला नपरेको सेनाले जनाएको छ । पाँचौँ तलासम्म लेदोले भरिएकाले थप खोजी भइरहेको छ । त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजीका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल नेपालका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको सेनाको भनाइ छ ।
त्रिशूली ३ ‘बी’ आयोजनामा नेपाली सेनाका ८९, गैरसैनिक तीनजना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले तीनवटा बोबक्याट र जेनेरेटर प्रयोग गरी खोजी गरिरहेको छ । टोलीले अडिट–२ टनेलबाट एक्स्काभेटर लैजान सक्ने गरी बाटोसमेत सफा गरेको छ । चिलिमे हाइड्रोपावरमा विदेशीसमेत सम्मिलित संयुक्त टोलीले मिनी एक्स्काभेटर र मड पम्पको सहयोगमा लेदो हटाउँदै पुनः १०५ मिटरभित्रसम्म पुगेर खोज तथा उद्धार कार्य गरिरहेको छ ।
यस्तै, माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङबाट एक चिनियाँ नागरिक लु हाइताओलाई जीवितै उद्धार गरिएको छ । सोही क्रममा थप दुईवटा शव फेला पारेर उद्धार गरिएको सेनाले जनाएको छ । सुरुङभित्रको लेदो हटाउँदै थप खोजी कार्य जारी राखिएको छ ।
जमिनतर्फ पनि मैलुङदेखि स्याफ्रुबेँसीसम्मका प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोज तथा उद्धार भइरहेको छ । नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत शनिबार ३१ जनालाई स्वास्थ्य सेवा दिएको छ । हालसम्म यी केन्द्रबाट ३ हजार २९७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका नौ हजार तीन सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ । उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन् । नेपाली सेनाले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई समन्वयात्मक रूपमा निरन्तरता दिइरहेको जनाएको छ ।