भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झन्डा पुनर्स्थापना

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले नेपाल–चीन सीमा क्षेत्रमा ठुलो क्षति पुर्याउनुका साथै सीमा स्तम्भ तथा अन्य भौतिक संरचनासमेत बगाएपछि नेपाली सीमा क्षेत्रमा राष्ट्रिय झन्डा पुनर्स्थापना गरिएको छ।

बाढीपछि सीमा क्षेत्रमा नेपालको पहिचान कायम राख्न पछिल्लो तीन दिनदेखि निरन्तर प्रयास गरिएको थियो। बाढीको प्रभाव र नदी कटान अझै जारी रहेकाले नेपाली भू–भागतर्फ सीमा पहिचान गरी राष्ट्रिय झन्डा गाड्ने कार्य निकै चुनौतीपूर्ण बनेको थियो।

जोखिमपूर्ण अवस्थाका बाबजुद सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको समन्वयमा नेपाली सीमा क्षेत्रमा राष्ट्रिय झन्डा पुनर्स्थापना गरिएको छ। झन्डा पुनः फहराएसँगै बाढीबाट प्रभावित सीमा क्षेत्रमा नेपालको उपस्थिति र पहिचानलाई पुनः स्थापित गरिएको छ।

बाढीका कारण सीमा क्षेत्रको भू–भागमा समेत परिवर्तन आएको र कटान जारी रहेकाले सीमा स्तम्भ तथा अन्य संरचनाको अवस्थाबारे थप अनुगमन आवश्यक देखिएको छ। सम्बन्धित सुरक्षा निकायले जोखिमका बिच सीमा क्षेत्रको सुरक्षा तथा निगरानीलाई निरन्तरता दिएका छन्।

सुझावित समाचार