नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकाय अन्योलपूर्ण अवस्थामा रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारका राम्रा काममा सहयोग र समर्थन गर्ने तथा नराम्रा कामको विरोध र आलोचना गर्ने आफ्नो नीति रहेको बताए।
‘अहिले कता–कता नेपाली राजनीति पनि, नेपाली कर्मचारीतन्त्र पनि र सबै राज्यका निकायहरू अलि बढी अन्योलमा भएको देखिन्छ,’ उनले भने, ‘तर लक्षण राम्रो देखिएको छैन।’
प्रचण्डले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजलाई राष्ट्र र जनताप्रति थप गम्भीर र जिम्मेवार बन्न आग्रह गरे। उनले राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता तथा लोकतन्त्रको रक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।