नक्कली कागजपत्र बनाएर बिहे दर्ता गर्न खोज्ने कानुन व्यवसायीसहित तीनजनाविरुद्ध मुद्दा दर्ता

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

स्थानीय तहको नक्कली कागजपत्र बनाएर अदालतमा विवाह दर्ता गर्न खोज्ने तीनजनाविरुद्ध प्रहरीले लिखत किर्ते मुद्दा दायर गरेको छ । नुवाकोटका रामहरि सापकोटा, तनहुँकी विष्णु लम्साल र नुवाकोट घर भएका कानुन व्यवसायी वासुदेव रिजालविरुद्ध लिखत किर्ते मुद्दा दायर भएको हो। 

उनीहरू गत ९ भदौमा जिल्ला अदालत, काठमाडौंमा विवाह दर्ताका लागि गएका थिए। अदालतका कर्मचारीलाई स्थानीय तहबाट भएको सिफारिसमा शंका लागेर बुझ्दा नक्कली भएको खुलेको छ । काठमाडौंको बुढानीलकण्ठ– २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठको नक्कली हस्ताक्षर गरी पत्र सिफारिस गरेको थियो । वडाध्यक्ष श्रेष्ठले त्यस्तो पत्र आफूले नलेखेको बताएपछि अदालतले विवाह दर्ताका लागि गएका दुवैलाई प्रहरीको जिम्मा लगाएको थियो। बयानको क्रममा उनीहरूले कानुन व्यवसायी रिजालले ती सबै कागजपत्र बनाइदिएको बयान दिएका हुन्। सोही आधारमा रिजालविरुद्ध पनि मुद्दा दायर भएको छ । तर, उनलाई पक्राउ भने गरिएको छैन । यसमा अनुसन्धान सकेर बुधबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो। 

रामहरि र विष्णु कतारमा बस्दै आएका थिए। उनीहरू त्यहाँ लिभिङ टुगेदरमा बस्दै आएका थिए।  कतारको कानुनअनुसार बच्चा जन्माउन विवाह अनिवार्य भएका कारण आफुहरू अदालती विवाहका लागि नेपाल आएको बयानमा बताएका छन्। 

सुझावित समाचार