बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी, २९ जनाको हवाई उद्धार

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

बाढीपहिरो तथा विपत् प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्। नेपाली सेनाका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको हवाई उद्धार गरिएको छ। नेपाली सेनाका सात तथा गैरसैनिक ६ वटा हवाई साधन परिचालन गरी प्रभावित क्षेत्रबाट उद्धार गरिएको हो।

त्रिशूली– ३ ‘ए’ सुरुङबाट दुईजनाको जीवितै उद्धार
त्रिशूली– ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका क्रममा नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बलका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोलीले दुईजनालाई जीवितै उद्धार गरेको छ।

उद्धार गरिएका दुवैजनालाई हेलिकाेप्टरमार्फत काठमाडौंस्थित वीरेन्द्र अस्पताल, छाउनी ल्याई उपचार भइरहेको सेनाले जनाएको छ। सोही क्रममा सुरुङबाट एक शव निकालिएको छ भने थप खोज तथा उद्धार कार्य जारी छ।

त्रिशूली– ३ ‘बी’मा बाटो खोल्ने काम
त्रिशूली– ३ ‘बी’ आयोजनामा नेपाली सेनाका ८९, गैरसैनिक तीन तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले कार्यालय तथा आवास क्षेत्र पहिचान गरेको छ। उक्त स्थानसम्म पुग्न एक्स्काभेटर  र बबक्याट प्रयोग गरी बाटो बनाउने तथा माटो पन्छाउने काम भइरहेको छ।

लाङटाङ हाइड्रोमा दुई शव फेला
लाङटाङ हाइड्रोपावरमा नेपाली सेनाका २५ तथा दुई गैरसैनिकसहितको संयुक्त टोलीले सुरुङभित्र प्रवेश गरी दुईवटा शव फेला पारेको छ। थप खोज तथा उद्धार जारी रहेको सेनाले जनाएको छ।

त्यस्तै, चिलिमे हाइड्रोमा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले जेनेरेटर र मड पम्प  प्रयोग गरेर सुरुङभित्र जमेको लेदो हटाउने काम गरिरहेको छ।

माथिल्लो त्रिशूली– १ को हाकुस्थित सुरुङमा नेपाली सेनाका १७ जना तथा आयोजनाका प्रतिनिधिसहितको टोलीले खोजी गरिरहेको छ। सुरुङभित्र रहेको पानी बाहिर निकाल्ने काम पनि भइरहेको छ।

तादी नदीमा पुल जडानको तयारी
नुवाकोटको देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जना खटिएका छन्। टोलीले पुल जडानका लागि आवश्यक बेस निर्माण गरिरहेको छ।

नाै हजारभन्दा बढी सैनिक प्रभावित क्षेत्रमा परिचालित
जमिनी खोज तथा उद्धारअन्तर्गत प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्तीसमेत सञ्चालन भइरहेको छ। चिकित्सक अधिकृतसहितको टोलीले प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य तथा उद्धार सेवा प्रदान गरिरहेको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नाै हजार तीन सयभन्दा बढी नेपाली सेना प्रत्यक्ष रूपमा परिचालन भएका छन्।

सेनाका अनुसार उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपतकालीन उपचारलगायतका काम समन्वयात्मक रूपमा गरिरहेका छन्।

सुझावित समाचार