रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली– ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुईजनामध्ये एकजनाको अवस्था जटिल रहेको छ। दोस्रोपटक उद्धार गरिएका कविर महर्जनको अवस्था जटिल रहेको र उनलाई यसअघि नै काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार भइरहेको छ।
यस्तै, सुरुङबाट पहिलो चरणमा उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य रहेको छ। उनकाे स्वास्थ्य अवस्था स्थिर रहे पनि थप परीक्षण तथा स्वास्थ्य निगरानीका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याउने तयारी गरिएको छ।
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य विज्ञ सम्मिलित संयुक्त टोलीले आज बिहान सुरुङभित्र फसेका दुवैजनाको उद्धार गरेको हो।
बाढी आएलगत्तै आयोजनाभित्र मानिसहरू फसेको आशंका गरिएको थियो। त्यसपछि सुरक्षाकर्मी तथा उद्धारकर्मीले लगातार खोज तथा उद्धार प्रयास जारी राखेका थिए। लामो प्रयासपछि सुरुङभित्र रहेका दुईजनालाई उद्धार गर्न टोली सफल भएको हो।
उद्धारपछि दुवैजनालाई आवश्यक स्वास्थ्य उपचार तथा परीक्षणका लागि अस्पताल पठाइएको छ। उद्धार टोलीले आयोजनाभित्र थप व्यक्ति फसेका छन् कि छैनन् भन्नेबारे समेत खोजी तथा निरीक्षण गरिरहेको छ।