- महासभा २३ भदौमा सुरु हुनेछ र ७ असोजमा जनरल डिबेट सुरु हुनेछ । जनरल डिबेटमा सहभागी राष्ट्रका राष्ट्रप्रमुख, सरकारप्रमुख, मन्त्री वा प्रतिनिधिमण्डलका नेतृत्वले सम्बोधन गर्ने प्रचलन छ । जनरल डिबेटमा नेपालको तर्फबाट अब प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री बालेन्द्र शाह भदौ चौथो सातादेखि सुरु हुने संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन न्युयोर्क जाने भएका छन् । यसअघि ३ भदौमा मन्त्रिपरिषद्ले परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको प्रतिनिधिमण्डललाई महासभामा पठाउने निर्णय गरेको थियो । १० भदौको भोटेकोशी बाढीले ठुलो जनधनको क्षति पुर्याएपछि जलवायु न्यायको आवाज उठाउन प्रधानमन्त्री शाह न्युयोर्क जाने भएका हुन् ।
‘प्रधानमन्त्री शाह न्युयोर्क जाने पक्कापक्की भएको छ । मन्त्रिपरिषद्को अर्को बैठकले उहाँको भ्रमणबारे औपचारिक निर्णय गर्छ होला,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘निर्णयको औपचारिकता बाँकी छ । तर, हामीले प्रधानमन्त्रीको न्युयोर्क भ्रमणको तयारी थालिसकेका छौँ ।’ प्रधानमन्त्रीको नेतृत्वमा सानो आकारको प्रतिनिधिमण्डल बनाउने सरकारको तयारी छ ।
गत वर्ष चैतमा प्रधानमन्त्री भएपछि शाहको यो पहिलो विदेश यात्रा हुनेछ । उनलाई भारत र चीनबाट औपचारिक भ्रमणको निमन्त्रणा आइसकेको छ । भोटेकोशी बाढीपछि प्रधानमन्त्री राष्ट्रसंघीय महासभामा उभिएर जलवायु परिवर्तन महासन्धिअन्तर्गत स्थापना भएको हानि–नोक्सानी कोषमा क्षतिको दाबी गर्नुपर्ने सुझाव सार्वजनिक वृत्तबाट आइरहेका थिए । ‘प्रधानमन्त्रीलाई राष्ट्रसंघीय महासभामा गएर नेपालको पछिल्लो अवस्थाबारे बोलिदिँदा त्यसले देशका लागि निकै ठुलो अर्थ हुन्छ भन्ने सुझावहरू आएपछि उहाँ न्युयोर्क जान तयार हुनुभएको छ,’ एक उच्च सरकारी अधिकारीले भने ।
संयुक्त राष्ट्रसंघीय सूचना केन्द्रका अनुसार महासभा २३ भदौमा सुरु हुनेछ र ७ असोजमा जनरल डिबेट सुरु हुनेछ । जनरल डिबेटमा सहभागी राष्ट्रका राष्ट्रप्रमुख, सरकारप्रमुख, मन्त्री वा प्रतिनिधिमण्डलका नेतृत्वले सम्बोधन गर्ने प्रचलन छ । जनरल डिबेटमा नेपालको तर्फबाट अब प्रधानमन्त्री शाहले समबोधन गर्नेछन् ।
गत वर्षको जेन–जी आन्दोलन, चुनाव हुँदै प्रधानमन्त्री भएका शाहले राष्ट्रसंघीय महासभाको सत्रलाई सम्बोधन गर्दा विश्वभर सकारात्मक सन्देश जाने जानकारहरूको बुझाइ छ । यसअघि प्रधानमन्त्री शाहले तत्काल विदेश भ्रमण नगर्ने निर्णय गरेका थिए । उनकै निर्देशनमा परराष्ट्र मन्त्रालयले महासभाको ८१औँ अधिवेशनमा परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल न्युयोर्क पठाउने निर्णय गरेको थियो ।
महासभाको सत्रमा विश्वभरिबाट उच्चस्तरीय प्रतिनिधित्व हुनेछ । त्यही अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महासभाको सत्रमा सहभागी सबै देशका राष्ट्रप्रमुख एवं सरकारप्रमुखहरूलाई स्वागत समारोहमा निमन्त्रणा गर्नेछन् । उक्त स्वागत समारोहमा पनि प्रधानमन्त्री शाह सहभागी हुँदै छन् ।
गत वर्ष २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि गठित अन्तरिम सरकारले नेपालबाट प्रतिनिधिमण्डल न्युयोर्क पठाएन । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका थिए । र, उनले नै नेपालको तर्फबाट सम्बोधन गरेका थिए ।
नयाँदिल्लीमा २७ र २८ भदौमा आयोजना हुने ब्रिक्स राष्ट्रहरूको शिखर सम्मेलनमा नेपालले निमन्त्रणा पाएको छैन । आयोजक भारत सरकारले दक्षिण एसियामा बंगलादेशलाई निमन्त्रणा गरेको छ । यसैगरी, १५ र १६ भदौमा किर्गिस्तानको बिसेकमा सम्पन्न सांघाई को–अपरेसन अर्गनाइजेसन (एससिओ)को शिखर सम्मेलनमा पनि नेपालले निमन्त्रणा पाएन ।