बाढीपीडितप्रति संवेदनशील बन्न सरकारलाई कांग्रेस सांसद केसीको आग्रह

बेत्रावतीदेखि गल्छीसम्म तत्काल पाँचवटा बेलिब्रिज निर्माण गर्न सरकारको ध्यानाकर्षण

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपतकाे समयमा राष्ट्रिय ऐक्यबद्धता कायम गर्न सरकार र सबै राजनीतिक दललाई आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले अकल्पनीय प्राकृतिक विपत्ति र राष्ट्रिय शोकको भयावह अवस्थाले आफू मर्माहत भएको बताउँदै भोटेकोशीमा आएको बाढीले क्षणभरमै धेरै नागरिकको जीवन तहसनहस बनाएको उल्लेख गरे।

उनले विपतमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। साथै, विपतकाे समयमा एक–अर्कालाई दोषारोपण गर्नुभन्दा माथि उठेर राष्ट्रिय एकता कायम गर्नु सबैको दायित्व भएको उनको भनाइ छ।

यद्यपि, कमजोरी देखिएको अवस्थामा सत्य बोल्नु संसदीय कर्तव्यसमेत भएकाले सरकारको कामकारबाहीबारे प्रश्न उठाउन आफू बाध्य भएको केसीले बताए। प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति सरकारकै पूर्वभनाइसँग विरोधाभासपूर्ण र भ्रमपूर्ण रहेको उनको आरोप छ।

केसीले विपतकाे उद्धार तथा राहतमा नेपाली सेना र नेपाल प्रहरीको योगदान सराहनीय रहेको बताए। तर, सरकारको कार्यशैलीमा दूरदृष्टि तथा गम्भीर समन्वयको अभाव देखिएको उनले  टिप्पणी  गरे । 

‘हामी नै सर्वेसर्वा हौँ, हामीले जे गरेका छौँ, त्यो ठीक छ’ भन्ने प्रवृत्ति सरकारमा देखिएको आरोप लगाउँदै केसीले विपत् व्यवस्थापनमा सबै पक्षसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताए।

सुरुङ निर्माणका लागि प्राप्त हुन सक्ने विदेशी सहयोग अस्वीकार गर्नु गम्भीर भूल भएको उल्लेख गर्दै उनले पूर्वाधार विकास र विपत् न्यूनीकरणका विषयमा सरकार गम्भीर हुनुपर्ने बताए।

केसीले वेत्रावतीदेखि गल्छीसम्म तत्काल पाँचवटा बेलिब्रिज निर्माण गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन्। विपतका कारण अवरुद्ध सडक तथा यातायात तत्काल सञ्चालनमा ल्याउन अस्थायी पुल निर्माणलाई प्राथमिकता दिनुपर्ने उनको माग छ।

राहत वितरणमा सर्वदलीय र समावेशी प्रणाली जरुरी भएको उल्लेख गरे ।  

सुझावित समाचार