रसुवा भोटेकोशी बाढी : २५ जना प्रहरी अझै सम्पर्कविहीन, १,१४३ शव व्यवस्थापन

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि नेपाल प्रहरीले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म सात हजार पाँच सय १२ जना सुरक्षाकर्मी तथा जनशक्ति परिचालन गरिएको छ।

बाढीका कारण ६५ जना प्रहरी प्रभावित भएको विवरण सार्वजनिक गरिएको छ भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन्। खोज तथा उद्धारका क्रममा ठुलो संख्यामा शव फेला परेको र व्यवस्थापनको कामसमेत भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीको अद्यावधिक विवरणअनुसार हालसम्म एक हजार १४३ मृतकको विवरण प्राप्त भएको छ। मृतक तथा बेपत्ता व्यक्तिको पहिचानका लागि डिएनए नमुना संकलन, वेबसाइटमार्फत विवरण अपलोड तथा पहिचान नभएका शवको व्यवस्थापनको काम अघि बढाइएको छ।

बाढीपछि होल्डिङ सेन्टरमा तीन हजार एक सय २६ जना राखिएको विवरणमा उल्लेख छ। मृतकका आफन्ततर्फबाट पनि ठुलो संख्यामा खोजी तथा पहिचानका लागि सम्पर्क गरिएको छ। हालसम्म एक हजार सात सय ३४ जना मृतकका आफन्त सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

प्रहरीले प्रभावित क्षेत्रमा उद्धार, खोजी, शव व्यवस्थापन तथा बेपत्ताको खोजीलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ। बाढीबाट प्रभावित तथा सम्पर्कविहीन व्यक्तिको यकिन विवरण संकलन र पहिचान गर्ने कार्य अझै जारी छ।

सुझावित समाचार