नुवाकोटको विदुर नगरपालिका– १० वेत्रावतीस्थित एक घरमा २४ वटा शव फेला परेका छन्। भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धारका क्रममा नेपाल प्रहरीले ड्रोन क्यामेराको सहयोगमा उक्त शव फेला पारेको हो।
प्रहरीले ड्रोनमार्फत एउटा शव देखेपछि त्यसको आधारमा मंगलबार खोज तथा उद्धार टोली घटनास्थलतर्फ पठाएको थियो। शव देखिएको स्थान बच्चुराम अवस्थीको घर रहेको खुलेको थियो।
घरवरिपरि बाढीले बगाएर ल्याएको दलदले हिलो र भग्नावशेषका कारण घटनास्थलसम्म पुग्न निकै कठिन थियो। प्रहरीले नजिकैको भग्नावशेषबाट जस्तापाता, काठ र डोरीलगायत सामग्री जुटाएर दलदले हिलोमाथि बाटो निर्माण गरी प्रहरी निरीक्षकद्वय महेन्द्र दर्नाल र युवराज कटुवालको नेतृत्वमा घटनास्थलसम्म पुग्न सफल भएको जनाएको छ।
घरभित्र प्रवेश गरेपछि एउटा शव फेला परेको स्थानआसपास थप शव हुन सक्ने आशंकामा प्रहरीले खोजी गर्दा थप २३ वटा शव फेला पारेको हो। फेला परेका २४ शवमध्ये एक बालिका, ११ पुरुष र १२ महिला रहेका छन्।
प्रहरीका अनुसार शवको मुचुल्का कार्य सम्पन्न गरी व्यवस्थापनका लागि पठाउने प्रक्रिया भइरहेको छ। घटनास्थलमा रहेको दलदले हिलोका कारण शव व्यवस्थापन गर्नसमेत कठिनाइ भइरहेको र त्यसका लागि हेलिकाेप्टर आवश्यक पर्ने अवस्था रहेको प्रहरीले जनाएको छ।
बाढीबाट प्रभावित उक्त क्षेत्रमा नेपाल प्रहरीले स्थानीय तह तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।