सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिमका नागरिकको खोजबिन तथा उद्धारमा समन्वय गर्न प्रदेशस्थित उच्च सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री भट्टले बाढीपछि हराइरहेका नागरिकको खोज तथा उद्धारमा समन्वय प्रभावकारी बनाउन निर्देशन दिएका हुन्। रसुवा, नुवाकोटलगायत जिल्लाका बाढी प्रभावित क्षेत्रमा कार्यरत यस प्रदेशका १८५ जनाभन्दा बढी नागरिक बाढीपछि सम्पर्कविहीन भएका थिए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको विवरणअनुसार ४२ जना सम्पर्कमा आएका छन्। सम्पर्कविहीन भएकाहरूका परिवारले खोजी कार्यमा पहल गरिदिन प्रदेश सरकार र जिल्लास्थित सुरक्षा निकायलाई आग्रह गरिरहेका छन् ।
मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा हुन सक्ने बाढी तथा अन्य विपतकाे सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन र चनाखो बन्नसमेत निर्देशन दिएका छन्। नेपाल–भारत सीमामा देखिने समस्या तथा लागुऔषध नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन गर्न पनि उनले भने ।
सुरक्षा समितिको बैठकले भोटेकोशी बाढीमा परेका नागरिकको खोज, उद्धार तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोग, समन्वय गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। सुदूरपश्चिममा बाढी तथा विपतकाे सम्भावनालाई मध्यनजर गर्दै प्रदेशका सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र तयारी अवस्थामा राख्ने निर्णयसमेत बैठकले गरेको छ ।