रसुवाको भोटेकोशी बाढी : सात हजार ५१२ प्रहरी परिचालन, २५ जना अझै सम्पर्कविहीन

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि नेपाल प्रहरीले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। नेपाल प्रहरीका अनुसार भदौ १६ गते बिहान ८ बजेसम्म बाढी प्रभावित क्षेत्रमा सात हजार ५१२ जना प्रहरी परिचालन गरिएको छ।

बाढीबाट ६५ जना प्रभावित भएको विवरण प्राप्त भएको छ भने २५ जना अझै सम्पर्कविहीन छन्। उद्धार तथा खोजीका क्रममा फेलापरेका शवमध्ये आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव हस्तान्तरण तथा लास जाँच मुचुल्का गर्ने कार्यसमेत भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विभिन्न स्थानबाट कुल ५६ शव हस्तान्तरण गरिएको छ भने ५२७ जनाको लास जाँच मुचुल्का गरिएको विवरण छ। घाइते तथा उद्धार गरिएका व्यक्तिहरूको संख्या चार हजार २७० पुगेको छ, जसमा तीन हजार तीन पुरुष, एक हजार २५४ महिला र १३ जनाको लिंग नखुलेको उल्लेख छ।

बाढी प्रभावित तथा उद्धार गरिएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा राख्न विभिन्न जिल्लामा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। हालसम्म तीन हजार ४५३ जना होल्डिङ सेन्टरमा रहेको प्रहरीले जनाएको छ। तीमध्ये नुवाकोटमा दुई हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौंमा ३२५ जना रहेका छन्। उद्धार गरिएकामध्ये ५८० जना विदेशी नागरिक रहेको विवरणमा उल्लेख छ।

यस्तै, बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोजीका क्रममा एक हजार १० शव तथा मानव अंग फेला परेको विवरण छ। फेला परेका शवमध्ये ३८५ पुरुष, २०९ महिला, ३५ बालिका तथा ३५ बालक रहेका छन् भने ३५१ आंशिक अंग फेलापरेको जनाइएको छ।

सुझावित समाचार