- तापमान वृद्धिका कारण उच्च हिमाली क्षेत्रको जमिन र गेग्य्रानयुक्त सतह पग्लिनु नै अहिलेको प्रकोपको मुख्य कारण बनेको छ
भदौ १०, २०८३ मा भोटेकोशी–त्रिशूली हिमबाढीले नेपाल र चीनमा ठुलो मानवीय तथा भौतिक क्षति गर्यो । यो बाढीको उत्पत्तिस्थल नेपालको लामटाङ लिरुङ हिमालको उत्तरपूर्वमा अवस्थित छ । सो स्थानमा बाक्लो बरफको तह रहेको जमिनमुनिको चट्टानसहितको भाग ठाडै १५ सय मिटर उड्दै तल्लो भागमा रहेको हिमनदीमा बज्रन पुग्यो । बरफ र चट्टान धुलोपिठो भई ल्हेन्दे खोलामा गेग्य्रान बहाबका रूपमा द्रुत गतिमा बहेर लगभग सात मिनेटभित्र २० किलोमिटर दूरी पार गरेको देखिन्छ । यो गेग्य्रान बहाबले नेपाल प्रवेशपछि गरेको वितण्डा हाम्रो बाँचेको पुस्ताले देखेको सबैभन्दा त्रासदिपूर्ण विपत् रह्यो । यो हिमपहिरो जमिनमा बजारिँदा नेपाली समयअनुसार बिहान ८:३७ बजे ५.२ म्याग्निच्युटको भूकम्पीय तरंगसमेत सिर्जना भएको देखिन्छ ।
यस्तो प्रकृतिको हिमबाढी नौलो भने होइन । ५ मे, २०१२ को बिहान सेतीनदीमा एक विनाशकारी आकस्मिक बाढी आयो, जसले ७२ जनाको ज्यान लियो र कास्की जिल्लाको सार्दी खोला र माछापुच्छ्रे गाविसको जनजीवन र जीविकोपार्जनमा ठुलो क्षति पुर्यायो । अन्नपूर्ण हिमशृंखलाको दक्षिणी भिरमा विगतमा पनि हिमपहिरोले निम्त्याएको उच्च तीव्रताको बाढी आउने गरेको छ । १५ अगस्ट, २००३ मा मादी नदीमा अभूतपूर्व आकस्मिक बाढी आई भर्खरै बनेको ग्रामीण सडक ध्वस्त भएको थियो र यसको बहाबसँगै धेरै पहिरो गई पाँचजनाको मृत्यु भएको थियो । दुवै बाढी सफा (खुला) मौसममा आएका थिए, र बाढीअघि खिचिएका स्याटेलाइट तस्बिरमा उल्लेखनीय आकारको कुनै हिमताल देखिएको थिएन, अर्थात् बाढी आउनुको कारण विशाल हिमपहिरो नै थियो ।
हिमाली क्षेत्रमा अहिले देखिइरहेका प्राकृतिक प्रक्रिया मुख्यतः विश्व तापमान वृद्धिका कारण भइरहेको देखिन्छ । माथिल्लो हिमाली क्षेत्र, जहाँ पहिले हिउँ पर्थ्यो, अथवा हिउँ जमेर बस्थ्यो र हिमनदी थिए, अहिले त्यहाँ वर्षा हुन थालेको छ । हिमालपारिका क्षेत्र (जसलाई हामी भौगोलिक रूपमा भोट भन्छौँ) मा पहिले वर्षा हुँदैनथ्यो । तर, केही वर्षयता त्यहाँ लामो समयसम्म पानी पर्न थालेको छ ।
पहिले त्यहाँ हिउँ पर्थ्यो, अथवा बरफ जमेर बस्थ्यो भने अहिले त्यस क्षेत्रमा पानी पर्छ । बगिरहेको बरफको रूप नै हिमनदी हो । हिमनदीले गर्ने क्षयीकरण र पानी मात्रले गर्ने क्षयीकरण फरक हुन्छ । बरफले माटोका कणदेखि ठुला चट्टानका टुक्रासम्म जमाएर एकैचोटि बगाएर ल्याउँथ्यो । अहिले त्यस्ता ठाउँमा ठुलो पानी पर्न थालेपछि बरफ द्रुत गतिमा पग्लन गई त्यहाँ थुप्रिएर बसेको गेग्य्रानसहितको भीषण बाढी सिर्जना हुने अवस्था आएको छ । हिमाली क्षेत्रबाट हिमनदी वा हिमपहिरोले निम्त्याउने बाढीपहिरो र वर्षाका कारण थोरै गेग्य्रान आउने बाढीपहिरोको प्रकृति फरक हुन्छ ।
हामीमा पहिले हिमताल फुटेपछि मात्र ठुलो बाढी आउँछ भन्ने बुझाइ थियो । हिमाली क्षेत्रमा सम्भावित जोखिमका रूपमा हिमताललाई मात्र बढी ध्यान दिइन्थ्यो । तर, अहिले हिमपहिरोबाट सिर्जित तथा हिमनदीले ल्याएको सेडिमेन्ट अर्थात् गेग्य्रान थिग्रिएर बसेको ठाउँमा ठुलो पानी पर्दा ती गेग्य्रान सहजै र भीषण रूपमा बगेर आउने अवस्था देखिन थालेको छ । हिमताल फुटेर आउने बाढी मात्र नभई भिरालोमा हिमनदी नै बग्ने र खसेर बाढी सिर्जना हुने घटना पनि देखिन्छन् । सन् २०१८ मा दोर्दीमा त्यस्तै खालको बाढी आएको थियो । मेलम्ची, मनाङ र अपर मुस्ताङमा लेदोयुक्त बाढी आइसकेको छ । यसको कारण त्यहाँ सयौँ वर्षअघिदेखि प्रशस्त गेग्य्रान थुप्रिएर बसेको थियो । तापक्रम वृद्धिले बरफ पगालेर त्यसलाई बाढीको रूप दिन सघायो ।
तापमान वृद्धिको प्रभाव : हिमाली क्षेत्र, जहाँ बाढी गइरहेको छ, त्यहाँ ससाना ताल थिए वा थिएनन् भन्ने अब महत्वपूर्ण रहेन । तापमान वृद्धिका कारण उच्च हिमाली क्षेत्रमा जमेर बसेको जमिन र गेग्य्रानयुक्त सतह पग्लिनु नै अहिले सबैभन्दा ठुलो प्रकोपको कारण बन्न गएको छ । अब के गर्ने भन्ने प्रश्न झनै महत्वपूर्ण भएको छ । हाम्रा संरचनाको सुरक्षाका लागि सोच्नुपर्ने वेला आएको छ । विद्युत्, बाँध र अन्य भौतिक पूर्वाधारको सुरक्षा कसरी गर्ने भनेर सोच्न ढिला भइसकेको छ । रसुवागढी क्षेत्र नेपाल मात्र नभई तिब्बती क्षेत्रसँग समेत जोडिएकाले यसमा चीनसँग पनि समन्वय आवश्यक पर्छ ।
उच्च हिमाली क्षेत्रमा गेग्य्रानसहितको बाढी आउँछ भन्ने हामीलाई थाहा भइसकेको छ । अब यस्ता बाढीबाट सुरक्षा र रोकथामका लागि कस्ता संरचना बनाउने भन्ने विषयमा गम्भीर रूपमा सोच्नुपर्ने भएको छ । हिमाली क्षेत्रमा संरचना बनाउँदा नै प्रकोपका वेला क्षति नहुने गरी सुरक्षित बनाउनुपर्ने देखिन्छ । हिलो मात्र आएर बसेको भए सफा गरेर संरचना सञ्चालनमा ल्याउन सकिन्थ्यो । तर, अहिलेको समस्या गेग्य्रानसहितको बहाब हो । त्यसैले, विज्ञहरूसँग छलफल गरेर अगाडि बढ्न ढिलो गर्नुहुँदैन ।
सन् २०१६ मा सिन्धुपाल्चोकको भोटेकोशीमा बाढी आएको थियो । सुरुमा हिमपहिरोले भोटेकोशी थुनिएर बाढी आएको भनिएको थियो । तर, पछि सानो हिमतालमा माथिबाट गेग्य्रान खस्दा गेग्य्रानसहितको बाढी आएको अवस्था देखिएको थियो । गेग्य्रानको बहाब रोक्ने र पानीलाई बग्न दिने गरी संरचना बनाउन सकिन्छ कि ? वा, पानी जमेर बसेका हिमताल र हिमताल बन्न सक्ने ठाउँमा पानी जम्न नदिई बगाउने व्यवस्था गर्न सकिन्छ कि ? हिमालमा जमेर बसेको पानी अब सधैँ जोखिमको विषय बन्ने देखिएको छ । त्यस्ता क्षेत्र पहिचान गरी पानीको निकास खोल्न सकिन्छ कि भन्ने अध्ययन गर्नुपर्छ । हामीसँग सोलुखुम्बुको इम्जा हिमताल र दोलखाको च्छोरोल्पामा पानीको सतह घटाइएको उदाहरण पनि त छन् ।
पूर्वाधारको डिजाइनमै गेग्य्रानको जोखिम : गेग्य्रान आएर यसरी पुरिदिन्छ र यति धेरै परिमाणमा आउँछ भन्ने कुरा नीति–निर्माण तहलाई बुझाउन निकै कठिन भएको थियो । तर, अहिले आएको बाढीले भौतिक संरचनासहित बगाउँदा यस विषयमा छलफल बढेको छ । अब पूर्वाधारको डिजाइनकै चरणमा गेग्य्रानको सम्भावित जोखिम समावेश गरेर क्षति न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने बहस धेरै जरुरी भइसकेको छ ।
जापानतिर यस्ता ठाउँमा पानी रोक्ने होइन, गेग्य्रान रोक्ने प्रकृतिका ड्याम बनाउने गरिएको छ । यस्ता संरचनाले पानी रोक्दैनन्, गेग्य्रान मात्र रोक्छन् । गेग्य्रान रोकिएपछि पानी बगेर जान्छ, तर अहिलेको जस्तो गेग्य्रानबाट हुने ठुलो क्षति हुनबाट जोगाउन सकिन्छ ।
अब संस्थागत संरचना चाहिन्छ : अबका दिनमा यही गेग्य्रानजन्य प्रकोप अझै बढी देखिने सम्भावना छ । त्यसैले, यसका लागि संस्थागत संरचना नै आवश्यक छ । प्रकोप न्यूनीकरण होस् वा कुनै पनि क्षेत्रमा आर्जन भएको ज्ञान, त्यसको हस्तान्तरण हुनुपर्छ । त्यसका लागि संस्थागत स्मृति अर्थात् ‘इन्स्टिच्युसनल मेमोरी’ आवश्यक छ । मेलम्चीको बाढीपछि हरेक वर्ष गेग्य्रानजन्य बाढीका घटना देखिन थालेका छन् । बाढीपहिरो आएपछि विज्ञ र व्यक्ति–व्यक्तिलाई खोज्दै हिँड्नुपर्ने अहिलेको अवस्था अन्त्य हुनुपर्छ । यसका लागि स्थायी संस्थागत निकाय खडा गर्नुपर्छ । नेपालले मात्र यस्ता समस्या धान्न नसक्ने भएकाले वैदेशिक सहायता पनि आवश्यक पर्छ । तिब्बतबाट ठुला नदी बगेर नेपाल आउँछन्, त्यसैले चीनसँग सूचना आदानप्रदानको आवश्यकता पनि छ । यसका लागि स्थायी निकाय चाहिन्छ । त्यो निकायले विस्तृत रूपमा अध्ययन, अनुसन्धान र जोखिम न्यूनीकरणका काम गर्दै जानुपर्छ ।
पहिलेको जस्तो अहिले सूचना प्राप्त गर्न कठिन छैन । भूउपग्रहबाट खिचिएका तस्बिर प्राप्त हुन्छन् र आवश्यक सूचना जम्मा गर्न सकिन्छ । तर, प्राप्त सूचना विश्लेषण गरी त्यसका आधारमा जोखिम न्यूनीकरणको उपाय खोज्ने काम पनि उत्तिकै आवश्यक छ । विदेशी संस्थाले गरिदेला भनेर पर्खेर बस्ने हो भने झनै ढिलो हुन्छ । हाम्रो आवश्यकताअनुसार विदेशी संस्थाले काम गरिदिँदैनन् । गेग्य्रानजन्य बाढी हाम्रो समस्या हो भनेर पहिचान गरिसकेपछि त्यसको समाधान खोज्न पनि विशेषज्ञ संरचना आवश्यक पर्छ । रोग पहिचान भएपछि उपचार गर्न डाक्टर चाहिन्छ भनेजस्तै प्रकोपको समस्या पहिचान भएपछि त्यसको समाधानका लागि स्थायी विशेषज्ञ निकाय आवश्यक हुन्छ ।
सन् २०१३ मा भारतको केदारनाथ तथा नेपालको महाकाली क्षेत्रमा भीषण वर्षा हुँदा भारत तथा नेपालतर्फ दार्चुलाको खलंगासम्म क्षति पुगेको थियो । भीषण वर्षापछि हिमनदीले जम्मा गरेर राखेको माटो एकैपटक बग्दा ठुलो विनाश भएको थियो । हिमाली क्षेत्रमा खोलानाला स्वभावतः ठाडा हुने भएकाले माथिबाट पानीसँगै गेग्य्रान बगेर आउँदा यसको विनाशकारी शक्ति धेरै हुन्छ । हिमाली क्षेत्रमा अहिले वर्षा हुनु नै ठुलो समस्या बन्दै गएको छ । वर्षासँगै पानी मात्र आएको भए त्यति ठुलो समस्या हुने थिएन । तर, ठाडा खोल्सामा थुप्रिएको गेग्य्रानलाई पानीले सँगै बगाएर ल्याउँदा ठुलो क्षति भइरहेको छ ।
त्यसैले, हाम्रा संरचना कहाँ–कहाँ छन्, तिनलाई कसरी जोगाउने र संरचनाको डिजाइनकै वेलामा सम्भावित प्रकोपलाई कसरी ध्यान दिने भन्ने विषयमा गम्भीर अध्ययन आवश्यक छ । अध्ययनबाट प्राप्त निष्कर्ष संस्थागत स्मृतिका रूपमा सुरक्षित हुनुपर्छ, ताकि भविष्यमा फेरि विज्ञ खोज्दै हिँड्न नपरोस् । गेग्य्रानजन्य प्रकोपका लागि छुट्टै संस्था बनाउन ढिलो भइसकेको छ । यो कुनै एक व्यक्तिले गर्ने काम होइन । यसका लागि विशेषज्ञको स्थायी टिम र संस्थागत संयन्त्र आवश्यक छ । यो केवल उच्च हिमाली क्षेत्रको समस्या होइन । छोटो समयमा अत्यधिक वर्षा हुने क्रम बढ्दै जाँदा पहाडी र उच्च पहाडी क्षेत्रका बस्ती र संरचनासमेत गेग्य्रानजन्य प्रकोपको जोखिममा पर्न सक्छन् । जहाँ बस्ती र संरचना छन् र वरपर यस्ता प्रकोप आउन सक्ने सम्भावना छ, त्यहाँ संरचनात्मक उपायबाट सुरक्षा गर्न सकिन्छ कि, के–कस्तो पूर्वसूचना प्रणाली आवश्यक पर्छ वा अन्य के उपाय अपनाउनुपर्छ भन्ने विषयमा संस्थागत रूपमा काम गर्नुपर्ने देखिन्छ । अबको आवश्यकता प्रकोप आएपछि क्षतिको विवरण संकलन गर्ने मात्र होइन, सम्भावित जोखिम पहिल्यै पहिचान गर्ने, संरचना सुरक्षित बनाउने र जनधनको क्षति हुन नदिने दीर्घकालीन संयन्त्र निर्माण गर्नु हो ।
(वरिष्ठ भूगर्भविद् द्विवेदी हिमबाढी विज्ञ हुन्)