मधेशका अझै १६२ सम्पर्कविहीन, ३० जना सम्पर्कमा

सोमबार, १५ भदौ, २०८३
डिजिटल संस्करण

पाँच दिनअघि भोटेकोशीमा आएको भीषण बाढीमा परेर मधेश प्रदेशका आठ जिल्लामा घर भई रसुवामा विभिन्न पेसा, व्यवसाय गरेर बसिरहेकामध्ये १९२ जना सम्पर्कविहीन भएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि पर्साका ४०, बाराका २५, रौतहटका १९, सर्लाहीका १९, महोत्तरीका १७, धनुषाका १३, सिराहाका १०, सप्तरीका ४९ गरी १९२ सम्पर्कविहीन भएकामध्ये आइतबार बिहानसम्म पर्साका दुई, बाराका दुई, रौतहटका ६, सर्लाहीका तीन, महोत्तरीका सात, धनुषाका सात, सिराहाका २ र सप्तरीका एक गरी ३० जना सम्पर्कमा आएका छन् । बाढीपछि सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी सप्तरीबाट ४८ जना र पर्साबाट ३८ जना रहेको प्रदेश प्रहरीले जनाएको छ । 

प्रदेश प्रहरीका अनुसार रसुवाका विभिन्न प्रहरी युनिटमा कार्यरत रहेको अवस्थामा बाढीपछि सम्पर्कविहीन भएका नौमध्ये ६ जना सम्पर्कमा आएका छन् । प्रहरी चौकी गोल्जुङबेँसी रसुवा दरबन्दी भई टिमुरेस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत पर्साको पर्सागढी नगरपालिका– ९ घर भएका श्रवणकुमार यादव, रौतहटको गौर नगरपालिका– ९ घर भई अस्थायी प्रहरी पोस्ट मेलुङमा कार्यरत नवीनकुमार सिंह सम्पर्कविहीन छन् । 

त्यस्तै, सर्लाहीको रामनगर गाउँपालिका– २ घर भई जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत गजेन्द्र राय अझै सम्पर्कविहीन अवस्थामा रहेको प्रहरीले जनाएको छ । बाढीपछि रौतहट मौलापुर नगरपालिका– ७, सगैया घर भई नेपाली सेनाको सुवेश मेलुङ पोेस्टमा कार्यरत २३ वर्षीय अभिषेक गुप्ता र बाराको सुवर्ण गाउँपालिका– १ घर भई रसुवास्थित नेपाली सेनामा कार्यरत सुरजकुमार साह पनि सम्पर्कविहीन अवस्थामा रहेको प्रदेश प्रहरीले जनाएको छ ।

सुझावित समाचार