विदुरबाट चोगदे-सरमथली हुँदै रसुवा पुग्ने छोटो वैकल्पिक सडक सञ्चालनमा

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अवरुद्ध यातायातलाई सहज बनाउन बागमती प्रदेश सरकारले रसुवा पुग्ने अर्को छोटो वैकल्पिक सडक सञ्चालनमा ल्याएको छ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय नुवाकोटले पहिरो हटाउने तथा सडक मर्मतको काम सम्पन्न गरेपछि विदुर–चौगदे–सरमथली–जिरोकिलो हुँदै रसुवा जाने सडक सञ्चालनमा आएको हो।

पूर्वाधार विकास कार्यालय नुवाकोटका अनुसार विदुरबाट जिरोकिलोसम्मको दूरी करिब १५ किलोमिटर छ। छोटो दूरीको यो मार्ग सञ्चालनमा आएपछि रसुवा आवतजावत गर्ने यात्रु, स्थानीयवासी, राहत सामग्री बोकेका सवारीसाधन तथा निर्माण सामग्री ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ।

भोटेकोशीमा आएको बाढी र त्यसपछिको पहिरोका कारण रसुवा जोड्ने मुख्य सडकका विभिन्न खण्डमा क्षति पुगेपछि प्रदेश सरकारले वैकल्पिक सडक सञ्चालनलाई उच्च प्राथमिकतामा राखेको थियो। सोही योजनाअनुसार पहिरो पन्छाउने, सडक मर्मत गर्ने तथा जोखिमयुक्त स्थानमा आवागमन सहज बनाउने कामलाई तीव्रता दिइएको थियो।

प्रदेश सरकारले प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनालाई प्रभावकारी बनाउन वैकल्पिक सडक सञ्जाल विस्तार गरिरहेको जनाएको छ। यसअघि पनि छहरे–चौघडा–बाहुनबेँसी–नर्जामण्डप–लच्याङ–सरमथली–पाटीखर्क–हिल्चेक–भोर्ले–जिरोकिलो हुँदै पासाङ ल्हामु राजमार्गसम्म जोडिने मार्ग सञ्चालनमा ल्याउने कार्य अघि बढाइएको थियो।

प्रदेश सरकारका अनुसार आवश्यकताअनुसार अन्य अवरुद्ध सडकखण्ड पनि क्रमशः सञ्चालनमा ल्याइनेछ।

सुझावित समाचार