भारतीय किन चाहन्छन् लोकतन्त्र र बलियो नेता ?

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण
  • विकासशील देशहरूमा आर्थिक वृद्धि र स्थिरता आममतदाताको शीर्ष प्राथमिकतामा पर्ने भएकाले दुई विरोधाभासी विचार सहअस्तित्वमा रहन सक्छन्

पछिल्ला केही वर्षमा, विद्वान् र आमनागरिक एउटा राजनीतिक विरोधाभासमा अल्झिएका देखिन्छन् । जस्तो, भारतीयको ठुलो हिस्साले लोकतन्त्रलाई दृढतापूर्वक समर्थन गर्छ । साथसाथै, भारतीयमाझ लोकतान्त्रिक संस्थाको बन्धनविना निर्णय लिन सक्ने ‘बलियो नेता’प्रति पनि उच्च समर्थन देखिन्छ । आखिर यस्तो विरोधाभासी विचार कसरी सहअस्तित्वमा रहन्छन् त ?

हालै हाम्रो समूहले गरेको एक अध्ययनले यी प्रश्न बुझ्ने प्रयास गर्यो । अध्ययनमा सन् २०२० र २०२४ बिच संकलन गरिएका चार ‘डेटा–सेट’ प्रयोग गरियो, जसमा राष्ट्रिय र राज्य दुवै स्तरका चुनावी तथा लोकतान्त्रिक धारणा संकलन गरियो । सबै तथ्यांकले संस्था र मिडियाले समेत आममानिसको लोकतन्त्र र अधिनायकवादप्रतिको विचारलाई प्रभावित बनाउन सक्ने पक्ष बुझ्न मद्दत गर्यो ।

अध्ययनमा भारतीयमाझ लोकतन्त्रप्रति बलियो विश्वास रहेको देखियो । तथापि, यो फरक क्षेत्र र फरक समयमा उल्लेखनीय रूपमा भिन्न पाइयो । राज्यस्तरमा, तस्बिर अलि फरक देखिन्छ । उदाहरणका लागि, हाम्रो अध्ययनले सन् २०२० मा बिहारमा लोकतन्त्रप्रतिको समर्थन र त्यसपछि सन् २०२२ को उत्तर प्रदेशमा लोकतन्त्रप्रति उल्लेखनीय रूपमा कम समर्थन देखायो ।

यी भिन्नता हेर्दा भारतमा लोकतन्त्रप्रतिको समर्थन देशभर समान नरहेको संकेत मिल्छ । यो सरकारी कार्यप्रणाली, क्षेत्रीय राजनीतिक संस्कृति र चुनावी परिस्थितिको स्थानीय अनुभवका आधारमा प्रभावित हुने रहेछ । जहाँ सरकारी कार्यसम्पादन र संस्थागत कमजोरी बढी स्पष्ट हुन्छन्, त्यहाँ सार्वजनिक विश्वास घट्न सक्छ ।

एकै समयमा, अधिनायकवादी, बलियो नेतृत्व र लोकतन्त्रप्रतिको समर्थन भने मुख्यतया सहरी, शिक्षित र विश्वव्यापी रूपमा जोडिएको वर्गमा देखियो । यी समूहले सहभागितामूलक निर्णय प्रक्रियाभन्दा गति र नीतिगत स्थिरतालाई प्राथमिकता दिने गरेको पाइयो । विकासशील अर्थतन्त्रमा आर्थिक वृद्धि र स्थिरता सधैँ आममतदाताको शीर्ष प्राथमिकतामा पर्छन् । त्यस्ता प्राथमिकतालाई प्रायः ‘इन्स्ट्रुमेन्टल डेमोक्रेसी’ भनिन्छ ।  लोकतन्त्र र बलियो नेताप्रति समान समर्थनको अर्थ मानिसहरू लोकतन्त्रिक सिद्धान्तलाई त समर्थन गर्छन्, तर साथमा जब लोकतान्त्रिक प्रक्रिया खण्डित देखिन्छन्, तिनीहरू निर्णायक नेतृत्वलाई प्राथमिकता दिन्छन् भन्ने हुन सक्छ ।

अध्ययनको दोस्रो महत्वपूर्ण बुँदा संस्थाहरूमाथिको आममानिसको विश्वासको जटिल भूमिकासँग सम्बन्धित छ । सामान्यतया, यो विश्वास गरिन्छ कि सरकार, अदालत र सेनाजस्ता संस्थामाथिको विश्वासले लोकतान्त्रिक स्थिरतालाई बलियो बनाउँछ । तर, हाम्रो अध्ययनको नतिजाले यस विषयमा थप जटिल तस्बिर देखाउँछ । भारतमा सरकार र सेनाप्रतिको विश्वास उच्च देखिए पनि अदालतजस्ता संस्थाप्रतिको विश्वास भने न्यून देखियो ।

यस अप्रत्याशित नतिजाले एउटा महत्वपूर्ण बुँदालाई उजागर गर्छ, संस्थाहरूमाथि नागरिकको विश्वास स्वतः लोकतन्त्रको समर्थनमा परिणत हुँदैन । जहाँ अदालतलाई शक्तिको केन्द्रीकरणलाई समर्थन गर्ने वा कार्यपालिकालाई सीमा नाघ्न सघाउने संस्थाका रूपमा हेरिन्छ, त्यहाँ अदालतप्रति न्यून विश्वास हुनेरहेछ । 

अध्ययनले मिडिया वातावरणले पनि लोकतन्त्र र अधिनायकवादबारे मानिसको विचारलाई उल्लेखनीय रूपमा प्रभाव पार्ने देखायो । तर, प्रभाव परिस्थितिअनुसार फरक हुने गर्छ । सबै सर्वेक्षणमा, हामीले फेसबुक, ह्वाट्सएप, ट्विटर, युट्युब र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्लाटफर्मलाई पत्रपत्रिका र टेलिभिजनजस्ता परम्परागत मिडियाबाट अलग राखेका थियौँ । चाखलाग्दो कुरा, आमधारणाजस्तो सामाजिक सञ्जालको प्रयोग लोकतन्त्रको समर्थनका लागि सधैँ हानिकारक नहुनेरहेछ । केही परिस्थितिमा, जस्तै २०२४ को लोकसभा सर्वेक्षण, ह्वाट्सएपको प्रयोग लोकतन्त्रमा बढी सहभागिता जगाउने उत्प्रेरक रह्यो । यो सम्भवतः राजनीतिक छलफललाई सहज बनाउने र बन्द समूहहरूमा मानिसलाई परिचालन गर्ने भूमिकाको कारणले हुन सक्छ ।

सन् २०२४ को लोकसभा चुनाव सर्वेक्षणमा, सामाजिक सञ्जालको प्रयोग संस्थाप्रतिको न्यून विश्वास र अधिनायकवादी सोच स्विकार्ने सम्भावनासँग पनि सम्बन्धित थियो । तथापि, यो नयाँ भने होइन । सामाजिक सञ्जालले मानिसमा ध्रुवीकरण बढाउन सक्ने विश्वभर नै देखिएको छ । जसका कारण राजनीतिक शक्तिहरूले यसमार्फत मानिसलाई उत्तेजित बनाएर आफूप्रति समर्थन बढाउन दुरुपयोग गर्ने धेरै प्रमाण छन् ।

परम्परागत मिडियाले पनि मिश्रित तस्बिर प्रस्तुत गर्छन् । पत्रपत्रिका र टेलिभिजनले सामान्यतया शिक्षित वर्गमाझ सूचनाप्रवाह गर्छन् । तर, राजनीतिक वातावरण र मिडिया स्वामित्व संरचनामार्फत यसले लोकतान्त्रिक र अधिनायकवादी सोच दुवैलाई प्रभावित बनाउन सक्छ । ठुला मिडिया घराना राजनीतिक शक्तिको नजिक हुँदै जाँदा, स्वतन्त्र पत्रकारिता र राजनीतिक सन्देश प्रवाहबिचको रेखा धमिलो हुँदै गइरहेको देखिन्छ । हुन त मिडियाले मात्र लोकतन्त्रप्रति आममानिसको धारणा निर्धारण गर्दैनन् । तैपनि, प्रत्येक माध्यमबाट प्रदान गरिएको जानकारीको प्रकार, यसको विश्वसनीयता र विविध विचारको लोकतन्त्रलाई बलियो बनाउन आ–आफ्नो भूमिका हुन्छ ।

नीति–निर्माता र नागरिक समाजका लागि, यस अध्ययनले संस्थागत पारदर्शिता र न्यायपालिकाको स्वतन्त्रता सुदृढीकरणको महत्व प्रकाश पार्छ । यसबाहेक, मिडियाको बुझाइ र विविध विचारलाई प्रवर्द्धन गर्नु महत्वपूर्ण हुन्छ । जवाफदेहिता विकास गरेर संस्थाहरूमा विश्वास आर्जन गर्नुपर्छ, वाचाले मात्र विश्वास कमाउन कठिन हुन्छ । 

द प्रिन्टबाट
(नियाजी नेसनल युनिभर्सिटी अफ सिंगापुरको ‘सेन्टर फर ट्रस्टेड इन्टरनेट एन्ड कम्युनिटी’का सहप्राध्यापक हुन्) 

सुझावित समाचार