धादिङ सदरमुकाम धादिङबेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ। वैकल्पिक सडक सञ्चालनमा आएसँगै बाढीका कारण अवरुद्ध भएको धादिङबेँसीको सडक सम्पर्क पुनः जोडिएको हो।
परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टारस्थित ह्याम्लेट रेस्टुरेन्टसम्म जोडिने सडक सञ्चालनमा ल्याइएको हो।
गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले धादिङबेँसी जाने त्रिशूली नदीमाथिको पुल बगाएपछि सदरमुकामसँगको सडक सम्पर्क विच्छेद भएको थियो। मुख्य सडकमार्ग अवरुद्ध भएपछि धादिङबेँसी पुग्न समस्या भएको थियो।
वैकल्पिक मार्ग सञ्चालनमा आएपछि धादिङबेँसी आवतजावत सहज हुने अपेक्षा गरिएको छ। पुल पुनर्निर्माण तथा मुख्य सडकमार्ग सञ्चालनमा नआएसम्म यो वैकल्पिक सडकले धादिङ सदरमुकामलाई बाहिरी सडक सञ्जालसँग जोड्ने महत्त्वपूर्ण मार्गका रूपमा काम गर्नेछ।