बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरद्वारा निःशुल्क यातायात सञ्चालन

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण

काठमाडौ‌ं महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र परेका यात्रुको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सेवा सञ्चालनमा ल्याएको छ। शुक्रबारबाट एउटा सवारीसाधनमार्फत सुरु गरिएको उद्धार सेवाबाट पहिलो दिन दुई बालबालिका, नाै  महिला र ८ पुरुष गरी १९ जनालाई काठमाडौ‌ं ल्याइएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले आजदेखि उद्धारका लागि दुईवटा सवारीसाधन परिचालन गरेको छ। तीमध्ये एउटा रसुवाबाट काठमाडौं यात्रु ओसारपसारमा प्रयोग हुँदै आएको ००६ ख ९३३९ नम्बरको १९ सिटे बस हो। अर्को सवारीसाधन छत्रपाटी निःशुल्क चिकित्सालयले महानगरपालिकाको अनुरोधमा उपलब्ध गराएको ०३० च ७३६४ नम्बरको गाडी हो, जसमा १० जना यात्रु अट्ने क्षमता रहेको छ।

निःशुल्क उद्धार सेवाका सवारीसाधन सहज रूपमा पहिचान गर्न अगाडि र पछाडि विशेष ब्यानर राखिएको छ। यात्रुको सुरक्षा र व्यवस्थापनका लागि दुवै सवारीसाधनमा नगर प्रहरीसमेत परिचालन गरिएको महानगरपालिकाले जनाएको छ। बाढी तथा विपद्का कारण विभिन्न स्थानमा अलपत्र परेका यात्रुको आवश्यकता बढ्दै गएमा सवारीसाधनको संख्या थप गर्ने महानगरपालिकाको योजना छ।

यसैबिच, उद्धार कार्यमा खटिएका जनशक्तिलाई विपत् व्यवस्थापनमा प्रोत्साहन गर्न काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नवीन मानन्धर तथा विपत् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले सभा गृहमा पुगेर परिचालित जनशक्तिसँग भेटघाट गरेका छन्। महानगरपालिकाले विपद्का समयमा यात्रुको उद्धार तथा सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राखेको जनाएको छ।

सुझावित समाचार