रसुवाकाे भाेटेकाेशी नदीमा बाढी आएको तेस्रो दिनसम्म पनि बाढीमा कति मानिस परे वा कति हराइरहेका छन् भन्ने यकिन विवरण आउन सकेको छैन । तर, सरकारले गरेको प्रारम्भिक प्राविधिक मूल्यांकनले भने झन्डै पाँच हजार व्यक्ति बाढीपछि सम्पर्कविहीन भएको देखाएको छ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार बाढी आउनुअघि रसुवाको गोसाईंकुण्डदेखि नुवाकोटको देवीघाट क्षेत्रसम्म सक्रिय रहेका करिब पाँच हजार मोबाइल प्रयोगकर्ता बाढीपछि सम्पर्कमा आएका छैनन् । नेपाल टेलिकम र एनसेलबाट प्राप्त विवरणका आधारमा यस्तो विश्लेषण गरिएको हो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म एक हजार ९२४ जना सम्पर्कविहीन छन् । तीमध्ये ९३३ जना जलविद्युत् आयोजनाका कर्मचारी हुन् । बाढीपहिरोमा सम्पर्कविहीन विदेशी नागरिकको संख्या मात्रै करिब ५१७ पुगेको छ । उनीहरूको खोजीका लागि शुक्रबारसम्म करिब दुई हजार निवेदन परेका छन् । सम्पर्कविहीनमध्ये रसुवा र नुवाकोटका स्थानीय तथा गोसाईंकुण्ड घुम्न गएका पर्यटकको विवरणसमेत अझै पूर्ण रूपमा संकलन हुन सकेको छैन ।