जिल्ला अस्पताल कालिकोटमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा सुरु भएको छ। अस्पतालमा हाडजोर्नी तथा नसा रोगका विशेषज्ञ चिकित्सक पुगेपछि सेवा सुरु भएको हो।
विशेषज्ञ चिकित्सकको आगमनसँगै हाडजोर्नी नसासम्बन्धी विभिन्न समस्या भएका बिरामीले अब जिल्लामै विशेषज्ञ स्वास्थ्य सेवा पाउने भएका छन्।
प्रदेश अस्पताल सुर्खेतबाट सरुवा भई आएका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सागर ढकालले अस्पतालमा सेवा दिन सुरु गरेको जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारले बताए। ‘हाडजोर्नी तथा नसासम्बन्धी उपचार जिल्ला अस्पतालबाट नियमित रूपमा सुरु भएको छ,’ उनले भने, ‘यससँगै हाडजोर्नी तथा नसासम्बन्धी समस्या भएका बिरामीलाई उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ।’
यसभन्दा अघि जिल्ला अस्पतालमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि चिकित्सक नहुँदा सेवा सुरु हुन सकेको थिएन्।