रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीपछि नेपाललाई भारत र चीन दुवै छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायले उद्धार तथा राहतमा सहयोग बढाएका छन् । सहयोग बढाउने विषयमा शुक्रबार भारतको दिल्ली र चीनको बेइजिङमा उच्चस्तरीय छलफल भएका छन् ।
बाढीबाट ठुलो जनधनको क्षति भएपछि भारतले उद्धार, स्वास्थ्यकर्मी तथा राहत सामग्रीसहितको टोली नेपाल पठाउने तयारी गरेको छ । चीनले पनि बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार, उद्धार तथा पुनर्स्थापनामा सघाउने प्रतिबद्धता जनाएको छ । यस्तै, अमेरिका, भुटान र पाकिस्तानले पनि बाढीपीडितका लागि सहयोग तथा सहानुभूति व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालसँग अमेरिकाको अत्यन्तै राम्रो सम्बन्ध भएको उल्लेख गर्दै नेपाललाई सहयोग गर्ने वचनबद्धता जनाएका छन् ।
शुक्रबार भारतीय विदेशमन्त्री डा. एस जयशंकरले दिल्लीमा सम्बन्धित निकायका अधिकारीसँग बैठक गरी नेपालमा उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोली पठाउने तयारी गरेका छन् । उनले शुक्रबार बिहान परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन संवादसमेत गरेका थिए ।
‘नेपालमा भइरहेको राहत तथा उद्धार कार्यका सम्बन्धमा छलफल भयो । काठमाडौं र बेइजिङस्थित हाम्रा दूतावासहरूले भारतीय नागरिकहरूको स्थिति र कुशलताबारे अद्यावधिक जानकारी गराएका छन् । विदेश मन्त्रालयका सम्बन्धित शाखाहरूले नेपाल पठाइने थप राहत सामग्रीहरूबारे जानकारी गराएका छन् । हामी यस विषयलाई उच्च प्राथमिकता दिन्छौँ,’ वैठकपछि जयशंकरले भने ।
उनले नेपालले माग गरेअनुसार बेलिब्रिज तथा त्यसको जडान गर्ने प्राविधिक टोली, सुरुङमा फसेकाहरूको उद्धार गर्ने टोली, स्वास्थ्यकर्मीको टोली पठाउने जानकारी दिएका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले थप राहत सहायता लिएर जहाज पठाउने तयारी भएकोसमेत बताएका छन् ।
यता चिनियाँ राष्ट्रपति सी जिनपिङले बाढी प्रभावित नेपालीप्रति सहानुभूति जनाउँदै राष्ट्रपति रामचन्द्र पौडेललाई सन्देश पठाएका छन् । हाल केरुङमा रहेका चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश पठाएर सहानुभूति जनाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले समाचार प्रकाशन गरेको छ ।
चीनले बेपत्ताहरूको खोज तथा उद्धार गर्न, प्रभावितलाई स्थानान्तरण र पुनर्स्थापना गर्न, घाइतेहरूको अविलम्ब उपचार गर्न, मानवीय क्षति न्यूनीकरण गर्न र रोक्न हरसम्भव प्रयास गरिरहेको सीले सन्देशमा उल्लेख गरेका छन् ।
नेपाल र चीन नदीनाला र हिमालहरूले जोडिएका साझा भविष्य भएका छिमेकी रहेको उल्लेख गर्दै सीले नेपालको उद्धार कार्यमा सक्रिय रूपमा सहयोग गर्न र आफ्नो क्षमताले भ्याएसम्म सहयोग तथा सहायता उपलब्ध गराउन चीन तयार रहेको बताएका छन् । दुवै देशका जनताले मिलेर विपत्को सामना गर्ने र चाँडै नैे बस्तीको पुनर्निर्माण गर्न सक्षम हुने विश्वास पनि व्यक्त गरेका छन् ।
बेइजिङमा राष्ट्रपति सी जिनपिङले बोलाएको चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले चीनतर्फ उद्धार तीव्र बनाउने तथा नेपालमा पनि उद्धारकर्ता तथा आपत्कालीन सहायता पठाउने निर्णय गरेको छ । बाढीबाट मृत्यु भएकाप्रति मौनधारणसमेत गरिएको बैठकले नेपालको विपत्ग्रस्त क्षेत्रमा आपत्कालीन राहत उपलब्ध गराउने र अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको सिन्ह्वाले जनाएको छ ।
पाकिस्तानका प्रधानमन्त्री साहबाज सरिफले शुक्रबार बिहान प्रधानमन्त्री बालेन्द्र शाहलाई टेलिफोन गरी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बाढी प्रभावितका लागि आपत्कालीन सहायता पठाउन लागेको पनि प्रधानमन्त्री सरिफले जानकारी दिएका छन् । भुटानका राजा जिग्मी गेसर नाम्ग्याल वाङचुकले शुक्रबार राजदरबारमा नेपालमा रसुवा बाढीबाट मृत्यु भएकाको सम्झनामा द्वीप प्रज्ज्वलन गरेका छन् ।
नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बोमले बाढीबाट प्रभावित नेपालीका लागि अमेरिकाका तर्फबाट आपत्कालीन सामग्रीको पहिलो खेप नुवाकोटतर्फ पठाएका छन् । क्याथोलिक रिलिफ सर्भिसले कारितास नेपाल संस्थामार्फत रसुवाका दुई विद्यालयमा २.५ मेट्रिकटनभन्दा बढी खाद्य सामग्री, पाँच सय कम्बल, पाँच सय झुल र अस्थायी आश्रयस्थलको भुइँमा ओछ्याउने पाँच सय इन्सुलेटिङ फोम सिटहरू पठाएको छ । नेपालको आवश्यकताअनुसारका पछिल्ला राहत सामग्री तयारी तथा वितरण गर्न नेपाल सरकार, क्याथोलिक रिलिफ सर्भिस र कारितास नेपालसँग निकट समन्वय भइरहेको दूतावासले जनाएको छ ।
कैलाश मानसरोवर यात्रीलाई वैकल्पिक रुटबाट फर्काइँदै
रसुवागढी–केरुङ सीमानाका भएर तिब्बतको कैलाश मानसरोवरका लागि गएका तीर्थयात्रीलाई चीन सरकारको समन्वयमा तातोपानी नाकाबाट फर्काउन थालिएको छ । रसुवागढी क्षेत्रमा आएको बाढीका कारण नेपाल–चीन सीमाका पूर्वाधारमा क्षति पुगेपछि चीनले वैकल्पिक मार्ग प्रयोग गरी यात्रु फर्काउने व्यवस्था मिलाइएको हो ।
ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाका अनुसार केरुङ हुँदै कैलाश मानसरोवर गएका नेपाली तथा विदेशी यात्रुलाई चीन सरकारले तातोपानी नाकाबाट नेपाल फर्किन सहजीकरण गरिरहेको छ । त्यसबाहेक यात्रुले चाहेमा ल्हासा हुँदै हवाई मार्गबाट काठमाडौं फर्किनसमेत चीनले सहजीकरण गर्ने भएको छ ।
‘ल्हासाबाट हवाई रुट हुँदै काठमाडौं फर्किन वा स्थलमार्गबाट तातोपानी नाका हुँदै फर्किन चीन सरकारसँग समन्वय भएको छ । केही यात्रु तातोपानी नाकाबाट फर्किन थालिसकेका छन्,’ महावाणिज्यदूत निरौलाले टेलिफोनमा भने ।
पछिल्ला केही वर्षयता रसुवागढी–केरुङ नाकाबाट कैलाश मानसरोवर यात्रामा जाने नेपाली, भारतीय तथा तेस्रो मुलुकका नागरिकको संख्या बढ्दै आएको थियो । अधिकारीहरूका अनुसार नेपालबाट कैलाश मानसरोवर जाने यात्रुका लागि पनि अब तातोपानी नाका प्रयोग गर्ने विकल्प खुला रहनेछ ।