भोटेकोशी नदीमा बाढीको बहाव बढिरहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार भोटेकोशी नदीमा बाढी बढ्दै जाँदा बाढीको प्रभाव रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको छ। यस अवस्थालाई मध्यनजर गर्दै त्रिशुली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
महाशाखाले नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, जोखिमयुक्त स्थानबाट टाढा रहन तथा सम्भावित बाढीबाट जोगिन आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ।
बाढीको अवस्था थप बिग्रिन सक्ने भएकाले सम्बन्धित निकायबाट जारी हुने सूचनालाई नियमित रूपमा पछ्याउन महाशाखाले अनुरोध गरेको छ।