अपर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको सफलतापूर्वक उद्धार

अझै पनि सोही टनेलमा फसेका १०० जनाभन्दा बढी मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सेना लागिपरेकाे छ

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अपर त्रिशूली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेको खबरले पनि चिन्ता बढाएको थियो। तर, प्रतिकूल मौसम र बाढीको तीव्र बहाबबिच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाको टोलीले आज टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको सफलतापूर्वक उद्धार गरेको छ।

अझै पनि सोही टनेलमा फसेका सय जनाभन्दा बढी मानिसलाई सुरक्षित बाहिर निकाल्न सेना जुटिरहेको छ। ​टनेलभित्रको जटिल र जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूली)बाट जमदार भक्तजन बस्नेतको कमान्डमा १/३ को सैन्य टोली अहोरात्र खटिएको छ।

​यसैगरी, बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलहरूमा पुगेर पनि सेनाले उद्धार कार्यलाई निरन्तरता दिएको छ। सिक्युआरटी धुन्चे ब्यारेक (रसुवा)बाट सहसेनानी अभिषेक शाहीको कमान्ड मा खटिएको १/५ को टोलीले स्याफ्रुबेँसी, टिमुरे, मैलुङ, ठुलोहाकु र हाकुबेँसीका विभिन्न स्थानहरूबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ।

आफ्नो ज्यानकाे पर्वाह नगरी उच्च साहस, तदारुकता र समर्पण प्रदर्शन गर्दै नेपाली सेनाले आज रसुवाका यी विभिन्न प्रभावित क्षेत्रहरूबाट कुल ८८३ जना स्थानीय तथा मजदुरहरूको उद्धार गरी ठुलो मानवीय क्षति हुनबाट जोगाएको छ।

See More On

सुझावित समाचार