विभिन्न कामको सिलसिलामा भोटेकोशी नदीको बाढी प्रभावित क्षेत्रआसपास गएका दाङका १७ जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार सम्पर्कविहीन भएकाहरूमध्ये धेरैजसो विभिन्न जलविद्युत् आयोजना (हाइड्रोपावर) र स्वास्थ्यचौकी क्षेत्रमा कार्यरत रहेका छन् ।
बेपत्ता हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिकानिवासी कोपिला केसी र खम्बु बोहोरा रसुवाको स्यार्पुबेँसी स्वास्थ्यचौकी क्षेत्रबाट सम्पर्कविहीन भएका छन् भने तुलसीपुरकै शिवशंकर जोशी मैलुङ हाइड्रोपावरबाट बेपत्ता भएका छन्।
यस्तै, सल्यान घर भई तुलसीपुर– ९ बस्ने प्रमिला बुढाथोकी टिमुरे हाइड्रोपावरबाट तथा शोभाराम योगी, तुलसीपुर– १३, दमारगाउँका लालबहादुर रोका र सोही ठाउँका गोपीलाल रोका नुवाकोटको फेवा हाइड्रोपावरको सुरुङबाट सम्पर्कविहीन भएका हुन् ।
सोही फेवा हाइड्रोकै सुरुङबाट तुलसीपुर– १३ का नारायण अधिकारी पनि बेपत्ता भएका छन् । त्यस्तै, रसुवाको फेवा हाइड्रोमा कार्यरत दंगीशरण– ६ का प्रेम विक र त्रिशूली हाइड्रोपावरमा कार्यरत रोल्पा घर भई हाल दाङ बस्ने राजेन्द्र महत पनि सम्पर्कविहीन भएका छन् । तुलसीपुर १९ दोघरेका ४६ वर्षीय पूर्णबहादुर बस्नेत, प्युठान घर भई हाल घोराही– १५ भरतपुर बस्ने सूर्यबहादुर केसी र तुलसीपुर– १८ दुधरासका गोपाल परियार र विकास परियार पनि सम्पर्कविहीन भएका छन् ।
त्यसैगरी, तुलसीपुर– १८ का सुदन गिरी, तुलसीपुरकी सीमा चौधरी, तुलसीपुर– १२ का बजारु चौधरी पनि सम्पर्कमा आएका छैनन् ।
पाँचजना सम्पर्कमा
भोटेकोशीको बाढीका कारण सम्पर्कविहीन भएका दाङका २२ जनामध्ये पाँचजना परिवारको सम्पर्कमा आएका छन् । दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार सम्पर्कविहीनहरूको सूचीमा रहेका दाङको तुलसीपुर उपमहानगरपालिका– १२ निवासी तिलक चौधरी र रामकुमार चौधरी सकुशल परिवारको सम्पर्कमा आएका छन् ।
त्यस्तै, रोल्पा घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका– ६ बस्ने र ठेक्कापट्टा तथा कामको सिलसिलामा रसुवा र नुवाकोट गएका ध्रुवबहादुर बुढामगर, राजपुर गाउँपालिका वडा नं, १, कठबेरवानिवासी गोपाल चौधरी र बुद्धिराम चौधरी सम्पर्कमा आइसकेका छन् ।