भोटेकोशीकाे बाढीमा बेपत्ताकाे खाेजीका लागि काठमाडौं विश्वविद्यालयद्वारा खोज, उद्धार तथा समन्वय समिति गठन

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल–चीन सीमास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठुलो जनधनको क्षति भएपछि काठमाडौं विश्वविद्यालयले खोज, उद्धार तथा समन्वय समिति गठन गरेको छ।

इन्टर्नसिपका लागि बाढी प्रभावित क्षेत्रमा पुगेका विश्वविद्यालयका केही विद्यार्थी सम्पर्कविहीन भएपछि विश्वविद्यालयले असिस्टेन्ट प्रोफेसर मनीष प्रकाशको संयोजकत्वमा तीन सदस्यीय ‘खोज, उद्धार तथा समन्वय समिति, २०८३’ गठन गरेको हो। समितिका सदस्यमा असिस्टेन्ट प्रोफेसरद्वय कृष्णसुन्दर थापा र महेशराज भाट रहेका छन्।

समितिले सम्पर्कविहीन विद्यार्थी तथा अन्य व्यक्तिहरूको खोजी, उद्धार र आवश्यक सहयोगका लागि सम्बन्धित सरकारी तथा सुरक्षा निकायसँग समन्वय गर्ने विश्वविद्यालयले जनाएको छ। यसैगरी, बाढी प्रभावित क्षेत्रमा उपचार तथा मानवीय सहायता उपलब्ध गराउन धुलिखेल अस्पतालबाट सहायता टोलीसमेत परिचालन गरिएको छ।

विश्वविद्यालयले विद्यार्थी, शिक्षक, कर्मचारी वा उनीहरूका परिवारका कुनै सदस्य उक्त क्षेत्रमा गई सम्पर्कविहीन भएको भए तत्काल समितिलाई जानकारी गराउन आग्रह गरेको छ।

विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सञ्जीव श्रेष्ठद्वारा जारी सूचनामा विपतका समयमा सम्पर्क, खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन विश्वविद्यालयले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिरहेको जनाइएको छ।

सुझावित समाचार