सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक सुरु भएको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।
भोटेकोशी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका विषयमा साझा धारणा बनाउन (रास्वपा) सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन् ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक बसेको छ । यसअघि पूर्वीतराईमा साम्प्रदायिक तनाव हुँदा पनि रविले सर्वदलीय बैठक बोलाएर राजनीतिक दलहरूबिच समन्वयकारी भूमिका खेलेका थिए ।
बैठकमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेता महन्थ ठाकुर, उपेन्द्र यादवलगायत उपस्थित छन् ।







