तिब्बती भूभागमा हिमचट्टान खस्दा नेपालमा आएको विनाशकारी बाढीमा ठुलो जनधनको क्षति भएपछि छिमेकी मुलुकसहित अन्तर्राष्ट्रिय समुदायले सहानुभूति व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय समुदायले राहत तथा पुनर्स्थापनालगायत आवश्यक सहयोगका लागि प्रतिबद्धता जनाउँदै विपत्को यस घडीमा नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अपराह्न प्रधानमन्त्री बालेन्द्र शाहलाई टेलिफोन गरी हरसम्भव मानवीय सहायता उपलब्ध गराउने आश्वासन दिएका छन् । उनले यथासम्भव सहायता पठाउने तयारी भएकोसमेत प्रधानमन्त्री शाहलाई जानकारी गराएका छन् ।
‘प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी गरेँ र नेपालमा आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेँ । यस कठिन समयमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्ध भई साथै उभिएका छन्,’ टेलिफोन वार्तापछि सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘भारत नेपाललाई सम्भव भएसम्मका सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउन तयार छ । हाम्रा टोलीहरू उद्धार तथा राहत प्रयासहरूमा नजिकबाट समन्वय गरिरहेका छन् ।’
यसैबिच बुधबार नै भारतले १० टन मानवीय सहायता सामग्री तथा अत्यावश्यक औषधि पठाएको छ । भारतीय विदेशमन्त्री डा.एस जयशंकरले नेपाललाई १० टन मानवीय सहायता सामग्री तथा अत्यावश्यक औषधि पठाएको सार्वजनिक गरेका छन् । भारतले बिहीबार पनि राहत सामग्री पठाउने जनाएको छ । चुनौतीपूर्ण घडीमा नेपाली जनता र नेपालको साथमा भारत रहेको जयशंकरले जनाएका छन् ।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको सन्देशमा नेपाल सरकारको प्रयासमा साथ दिँदै उद्धार र राहत सहयोग गर्न तयार रहेको उल्लेख गरेकी छिन् । उपराष्ट्रपति सिपी राधाकृष्णन्ले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गे, भारतीय गृहमन्त्री अमित शाह, भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोले तामाङ, दार्जिलिङका सांसद राजु विष्टसहित भारतीय नेताहरूले प्रभावित नेपाली जनताप्रति सहानुभूति जनाएका छन् ।
श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिशानायकेले रसुवालगायत नेपालका अन्य भागमा आएको विनाशकारी बाढीपहिरोका घटनाबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
युरोपेली आयोगकी अध्यक्ष उरसुला भोन डेर लियेनले विनाशकारी बाढीले नेपाल र चीनका समुदायलाई प्रभावित पारेको उल्लेख गर्दै पीडित परिवारप्रति सहानुभूति जनाएकी छिन् । ‘हामी थप युरोपेली सहायता परिचालनका लागि तयार छौँ,’ उनले सहानुभूति सन्देशमा भनेकी छिन् । अमेरिका, बेलायत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान, मालदिभ्सलगायतले पनि विनाशकारी बाढी प्रभावित नेपाली जनताप्रति सहानुभूति जनाएका छन् ।
आवश्यक सहयोग जुटाउने प्रयास
विपत्ग्रस्त नेपालका बाढीपीडितको उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन छिमेकी मुलुक भारत र चीन तथा विश्व बैंकले समन्वय थालेका छन् । सरकारले पनि बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि स्वदेशी तथा विदेशी स्रोतबाट आवश्यक सहयोग जुटाउने प्रयास थालेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आपत्कालीन बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकाहरूलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।
बाढीको खबर आएलगत्तै बुधबार बिहान विश्व बैंकका नेपाल हेर्ने राष्ट्रिय निर्देशक डेबिड सिस्लेनले विभिन्न स्रोतबाट नेपाललाई आपत्कालीन सहयोगस्वरूप २५ अर्ब सहयोग गर्न सकिने जानकारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिएका छन् । युएनडिपीले पनि सहायता परिचालन सुरु गरेको जनाएको छ ।
बाढी प्रभावित भएको उत्तरी छिमेकी चीनले पनि बाढी प्रभावित क्षेत्रका लागि तत्कालै नगद सहयोग गर्ने आश्वासन दिएको छ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले यसका लागि नेपालमा सहजीकरण गर्न अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन् । भारतले बाढीपीडितका लागि तत्काल चाहिने राहत सामग्रीहरूको सूची मागेको छ ।
प्रधानमन्त्री, अर्थमन्त्रीलगायत अन्य मन्त्रीहरूसँग परराष्ट्रमन्त्री खनालले समन्वय गरेका छन् । परराष्ट्रमन्त्री खनालले भारतबाट सहयोग सामग्री आउने जानकारी गराएका छन् । अर्थमन्त्री वाग्लेको सचिवालयका अनुसार छिमेकी मुलुक र दातृ निकायको उदार सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट अर्थमन्त्री वाग्लेले आभार व्यक्त गरेका छन् ।
पहिरो नेपालतिर गएको चीनको भनाइ
बुधबार बिहान आएको विनाशकारी बाढीपहिरोबाट चीनको स्वशासित क्षेत्र तिब्बततर्फ पनि ठुलो क्षति भएको चिनियाँ पक्षले नेपाली अधिकारीलाई जानकारी गराएको छ । केरुङ क्षेत्रमा रहेका चिनियाँ अध्यागमन, भन्सारसहितका सबै भवन तथा कार्यालय र अन्य संरचना बाढीले बगाएको चिनियाँ पक्षले जनाएको छ । सिगात्सेका चिनियाँ अधिकारीलाई उद्धृत गर्दै ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले भने, ‘मसँगको कुराकानीमा चिनियाँ अधिकारीहरूले चीनतर्फ पनि सयौँ हराइरहेको जानकारी दिनुभएको छ । सडक, पूर्वाधार, बिजुली, इन्टरनेट पनि अवरुद्ध भएको छ र विशेष गरी नेपाल चीन सीमा क्षेत्रका सबै पूर्वाधार समाप्त भएका छन् ।’
चीनले सीमाक्षेत्रको नेपालतर्फ गएको भीषण पहिरोका कारण क्षति भएको जिकिर गरेको छ । ‘चीनको दक्षिण–पश्चिम तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ नाकानजिकै नेपालतर्फ गएको भीषण पहिरो र पहिरोपछि आएको बाढीका कारण ठुलो जनधनको क्षति भएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि पूर्ण क्षमताका साथ खटिन निर्देशन दिएका छन्,’ सिन्ह्वाले लेखेको समाचारमा छ ।
चीनतर्फ तीनजनाको मृत्यु, २६५ बेपत्ता
बुधबार आएको बाढीका कारण चीनतर्फ तीनजनाको मृत्यु भएको र २६५ जना बेपत्ता भएको चिनियाँ पक्षले जनाएको छ । चाइना डेलीका अनुसार चिनियाँ जनमुक्ति सेनाको पश्चिमी थिएटर कमान्डअन्तर्गत एयर फोर्सले केरुङ बन्दरगाह क्षेत्रमा ड्रोन परिचालन गरी उद्धार तथा क्षतिको अवस्थाबारे निगरानी गरिरहेको छ । केरुङ सहरदेखि केरुङ नाकासम्मको सडकमा स्थानीय प्रशासनले आपत्कालीन तथा सुरक्षा प्रयोजनबाहेक सबै प्रकारका आवागमनमा प्रतिबन्ध लगाएको छ ।
यता, तिब्बत सरकारले उच्चस्तरीय राहत तथा आपत्कालीन प्रक्रिया थालेको छ । चीनको क्षेत्रीय आपत्कालीन व्यवस्थापन प्राधिकरणले उद्धार कार्यका लागि ७९२ जना जनशक्ति र १५२ वटा सवारीसाधन परिचालन गरेको छ भने क्षेत्रीय अग्नि नियन्त्रक तथा उद्धार प्राधिकरणले उद्धार कुकुर, लाइफ स्क्यानर (जीवन पत्ता लगाउने उपकरण) र स्पिड बोटसहित ७२ वटा सवारीसाधन तथा ४३१ जना अग्नि नियन्त्रक एवं उद्धारकर्मीहरूलाई परिचालन गरेको छ ।