चितवनस्थित नारायणी नदीकिनारमा ६४ शव फेला

भरतपुर अस्पतालको शवगृह भरिएपछी शव राख्न औद्योगिक प्रतिष्ठानको भवन प्रयोग गर्ने तयारी

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदीकिनारमा ६४ वटा शव फेला परिसकेका छन् । तीमध्ये अधिकांश शवको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार शव फेला पर्ने क्रम अझै रोकिएको छैन । त्रिशूली र नारायणी नदीको बहाब क्षेत्रमा बाढीले बगाएका व्यक्ति तथा बेपत्ताको खोजी भइरहेकाले शवको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

चितवन प्रहरीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा नदी किनारका विभिन्न क्षेत्रमा खोज तथा उद्धार अभियानलाई आज पनि तीव्र बनाएको छ । नदीकिनार, झाडी, बालुवा थुप्रिएको क्षेत्र र नदीले बगाएर ल्याएका वस्तुहरूमा केन्द्रित भएर शव खोज्ने कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

यसैबिच भेटिएका शवको संख्या बढ्दै गएपछि भरतपुर अस्पतालको शवगृह भरिएको छ। शव राख्ने क्षमता समाप्त भएपछि जिल्ला प्रशासन र सुरक्षा निकायले वैकल्पिक व्यवस्थाका रूपमा औद्योगिक प्रतिष्ठानको कार्यालय भवनमा शव व्यवस्थापन गर्ने तयारी थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक एसपी रामेश्वर पौडेलका अनुसार बुधबार साँझसम्म त्रिशूली र नारायणी नदीकिनारबाट मात्रै ६४ वटा शव फेला परिसकेका छन् । शवको संख्या लगातार बढेपछि शवगृहमा थप शव राख्न नसक्ने अवस्था सिर्जना भएको उनले बताए ।

एसपी पौडेलका अनुसार तनहुँ जिल्लामा फेला परेका नौवटा शव पनि व्यवस्थापनका लागि चितवन ल्याइएको थियो, तर भरतपुर अस्पतालको शवगृहमा ठाउँ अभाव भएपछि ती शव पुनः तनहुँमै फिर्ता पठाएर त्यहीँ व्यवस्थापन गर्ने निर्णय गरिएको छ।

शवको सनाखत, आफन्तको खोजी, पोस्टमार्टम तथा व्यवस्थापनलाई तीव्र बनाउन जिल्ला प्रशासन कार्यालय, भरतपुर अस्पताल, सुरक्षा निकाय र स्थानीय तहबिच समन्वय भइरहेको छ । सनाखत हुन नसकेका शवको फोटो, विवरण र अन्य पहिचान खुल्ने सामग्री संकलन गरी अभिलेखीकरणको काम पनि सँगसँगै भइरहेको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार