आपतकालीन स्वास्थ्य सेवाका लागि सरकारको तयारी, (एचइओसी) सक्रिय

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

सम्भावित विपत् तथा आपतकालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र  (एचइओसी) सक्रिय बनाएको छ।

आपतकालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयले नेपाल रेडक्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौंस्थित संघीय अस्पताल र रक्तसञ्चार केन्द्रहरूसँग आवश्यक समन्वय गरिरहेको जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंका विभिन्न अस्पतालमा उपलब्ध तथा खाली रहेका बेडको विवरण नियमित रूपमा अद्यावधिक गरिएको छ। सम्भावित आपतकालीन अवस्थाका बिरामीलाई आवश्यकताअनुसार व्यवस्थापन गर्न अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ।

त्यसैगरी, आपतकालीन अवस्थाका लागि एम्बुलेन्स तथा आवश्यक स्वास्थ्य उपकरण र सेवाका साधनहरूलाई स्ट्यान्डबाईमा राखिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्यसम्बन्धी आपतकालीन सहयोग, सूचना तथा समन्वय आवश्यक परे मन्त्रालयको हेल्पलाइन १११५ मा सम्पर्क गर्न मन्त्रालयले सर्वसाधारणलाई अनुरोध गरेको छ। मन्त्रालयले सम्भावित विपतका समयमा घाइते तथा बिरामीको शीघ्र उपचार, उद्धार र स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबिच निरन्तर समन्वय भइरहेको जनाएको छ।

सुझावित समाचार