विपतका वेला उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन गर्न गगन थापाको आग्रह

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा रसुवा जिल्लामा भएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेका छन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत विपतकाे यस घडीमा प्रभावित नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् । उनले सुरक्षा निकाय, स्थानीय तह, प्रदेश तथा संघीय सरकारबिच प्रभावकारी समन्वय गरी उद्धार तथा राहतका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन् ।

बाढीका कारण मानवीय क्षतिसँगै सडक, पुल, विद्युत् तथा सञ्चार संरचनामा समेत क्षति पुगेको अवस्थामा प्रभावित क्षेत्रमा तत्काल आवश्यक खाद्यान्न, औषधि, अस्थायी आवास तथा अन्य राहत सामग्री पुर्याउनुपर्ने थापाको भनाइ छ ।

उनले बेपत्ता नागरिकको खोजी तथा उद्धारमा उपलब्ध सबै स्रोत–साधन परिचालन गर्न र विस्थापित परिवारको तत्काल व्यवस्थापन गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसैबिच, रसुवामा आएको भीषण बाढीपछि उत्पन्न अवस्थाको समीक्षा गर्न बागमती प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक हेटौँडामा जारी छ । बैठकले प्रभावित क्षेत्रमा उद्धार, राहत, खोजी तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने बताइएको छ ।

सुझावित समाचार