रसुवा जिल्लामा आएको भीषण बाढीपछि उत्पन्न मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्न बागमती प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक हेटौँडामा बसिरहेको छ । बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, खोज तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन आवश्यक निर्णय लिन बैठक केन्द्रित भएको छ ।
मुख्यमन्त्री तथा प्रदेश विपत् व्यवस्थापन परिषद्का अध्यक्ष किरण थापामगरको अध्यक्षतामा बसेको बैठकमा प्रदेश सरकारका सम्बन्धित मन्त्री, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख, विपत् व्यवस्थापनसँग सम्बन्धित सरकारी निकायका प्रतिनिधि तथा सरोकारवाला अधिकारीहरू सहभागी छन् ।
बैठकमा रसुवाको पछिल्लो अवस्थाबारे विस्तृत जानकारी लिइएको छ । प्रभावित क्षेत्रमा भइरहेको उद्धार अभियान, बेपत्ता व्यक्तिको खोजी, सडक तथा पुलमा पुगेको क्षति, विद्युत् र सञ्चार सेवाको अवस्था तथा राहत वितरणको प्रगतिको समीक्षा भइरहेको जनाइएको छ ।
मुख्यमन्त्री थापाले प्रदेश सरकारले उद्धार तथा राहत कार्यमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् । प्रभावित क्षेत्रमा आवश्यक खाद्यान्न, औषधि, अस्थायी आवास सामग्री तथा अन्य अत्यावश्यक राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा छलफल भइरहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य निकायबिच समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल केन्द्रित छ ।