रसुवामा आएको बाढीका कारण उत्पन्न विपतकाे कठिन परिस्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर संयमित तथा जिम्मेवार ढंगले अघि बढ्न पार्टीका नेता, सदस्य तथा शुभेच्छुकलाई आग्रह गरेका छन्।
लामिछानेले बाढी तथा विपतकाे जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अपिल गरेका छन्।
उनले विपतसम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन आग्रह गरेका छन्। संवेदनशील अवस्थामा अप्रमाणित सूचना, हल्ला तथा अफवाह सामाजिक सञ्जालमार्फत नफैलाउन पनि उनले अनुरोध गरेका छन्।
‘एउटा गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाइ सिर्जना गर्न सक्छ र नागरिकमा अनावश्यक त्रास फैलाउन सक्छ,’ लामिछानेको भनाइ छ।
रास्वपा सभापति लामिछानेले पार्टीका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेता तथा कार्यकर्तालाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय रूपमा सहभागी हुन निर्देशनसमेत दिएका छन्।
विपतकाे यस घडीमा नागरिकको जीवन रक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग नै सबैको साझा प्राथमिकता हुनुपर्नेमा जोड दिँदै उनले प्रभावित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्। साथै, उनले सबैलाई सुरक्षित रहन र एक–अर्कालाई सहयोग गर्न हार्दिक अपिल गरेका छन्।