ड्राइभिङ लाइसेन्स नहुँदा जरिवानाको मारमा फरक क्षमताका चालक

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण
ड्राइभिङ लाइसेन्स नहुँदा जरिवानाको मारमा फरक क्षमताका चालक

इलाममा सामूहिक तस्बिर खिचाउँदै अपांगता भएका व्यक्तिहरूको टोली ।

मेरुदण्डको चोट (स्पाइनल कर्ड इन्जुरी) का कारण खुट्टा नचल्ने मोरङ केराबारीका राम कार्की वर्षौँदेखि स्कुटर चलाउँदै आएका छन् । तर, उनले हालसम्म पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकेका छैनन् ।

विराटरनगर महानगरपालिका– ५ का जगदीश खनाल पनि कान कम सुन्छन्, आँखाको दृष्टि पनि कमजोर छ । तर, उनले पनि वर्षौँदेखि सुरक्षित साथ मोटरसाइकल गुडाइरहेका छन् । हालसम्म दुर्घटनामा परेको अनुभव उनीसँग पनि छैन ।

विनालाइसेन्स सुरक्षितसाथ सवारीसाधन हाँक्दै आएका फरक क्षमताका कार्की र खनाल प्रतिनिधि पात्र मात्रै हुन् । कोशी प्रदेशमा विनालाइसेन्स सवारीसाधन हाँक्दै आएका फरक क्षमताका व्यक्ति धेरै छन् । वर्षौँदेखि सुरक्षित साथ सवारीसाधन हाँक्ने उनीहरूसँग दुर्घटनाका कुनै अनुभव छैन । तर, ट्राफिक प्रहरीको चेकजाँचमा भने पटक–पटक सास्ती व्यहोर्नुपरेको छ ।

कारण हो, विनालाइसेन्स साधन चलाउनु । अपांग महासंघका पूर्वकेन्द्रीय वरिष्ठ उपाध्यक्ष राम कार्की भन्छन्, ‘चेकजाँचमा फेला परे गैरकानुनी चालक भनेर ट्राफिकले जरिवाना असुल्छन् । कहिलेकाहीँ मानवीयताका आधारमा पनि छाडिदिन्छन् ।’

मोरङ बुढीगंगा गाउँपालिका– १ की कविता पौडेलको पनि भनाइ कार्कीकै जस्तै छ । ‘म सुरक्षित रूपमा सवारी चलाउन सक्छु भने सरकारले मेरो क्षमता किन परीक्षण गर्दैन ? किन अपांगता भएकै कारण मैले ड्राइभिङ लाइसेन्सबाट वञ्चित भइरहनुपरेको छ ?’ उनको प्रश्न छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४७ अनुसार चालक अनुमतिपत्रका लागि गम्भीर श्रवण समस्या भएका, दृष्टिदोष भएका तथा हातखुट्टा शक्तिहीन भएर काम गर्न नसक्ने व्यक्तिलाई अयोग्य मानेको छ । तर, संशोधित ऐनले अनुकूल सवारीका हकमा अपवादको व्यवस्था गर्दै मोपेड (तीनपांग्रे भएको मोटरसाइकल) चलाउन लाइसेन्स दिन भनेको छ ।

सर्वोच्च अदालतले श्रवण अपांगता भएका व्यक्तिको चालक क्षमता परीक्षण गरी निश्चित मापदण्ड पूरा गरेमा सीमित अवस्थाका लागि लाइसेन्स दिन सकिने बाटो पनि खोलेको छ । तर, मोपेडको लाइसेन्स काठमाडौंमा मात्रै लागू भएको छ ।

तर, कानुन पूर्ण रूपमा बन्द नभए पनि कोशी प्रदेशमा अपांगता भएकाहरूका लागि सवारी लाइसेन्स अझै व्यवहारमा कार्यान्वयन भएको छैन । प्रदेश सरकारमातहत रहेको यातायात व्यवस्था कार्यालयले अझै सवारी लाइसेन्स प्राप्त गर्ने स्पष्ट, व्यवस्थित र सहज प्रणाली नभएको भन्दै अपांगता भएकालाई अनुमति दिँदैन । 

अपांगता महासंघ कोशी प्रदेशका अध्यक्ष नवीनचन्द्र ढुंगेलका अनुसार दृष्टिविहीन र कडाखाले मानसिक बौद्धिक अपांगता भएकाबाहेक कोशी प्रदेशमा हातले नियन्त्रण हुने स्कुटर, कृत्रिम खुट्टा प्रयोग गरेर चलाउने मोटरसाइकल वा एक हातको सहायताले कार चलाउने थुप्रै अपांगता भएका व्यक्ति भेटिन्छन् । तर, लाइसेन्स पाएका छैनन् । 

राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थान कार्यालय कोशीका एसपी दीपक गिरीले भन्छन्, ‘चेकजाँचका क्रममा लाइसेन्स पाएनौँ भने सवारी कानुनअनुसार कारबाही गर्न हामी बाध्य छौँ, कसैप्रति दयाभाव देखाउन पाउँदैनौँ ।’ यातायात व्यवस्था कार्यालय, इटहरीका वरिष्ठ अधिकृत सुभासा कार्कीले सवारी तथा यातायात व्यवस्था ऐनभन्दा बाहिर गएर चालक अनुमतिपत्र दिन नसकिएको बताए । ‘भोलि ऐनमै व्यवस्था भएर आयो भने सोही अनुसार लाइसेन्स दिने हो । तर, तीनपांग्रे मोपेड चलाउन सक्ने अवस्थामा रहेकालाई लाइसेन्स दिन रोकेका छैनौँ,’ उनले भने ।
 

सुझावित समाचार